प्रधानमन्त्री ओलीको भारत भ्रमणमा जे देखियो

+
-

काठमाडौं, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजकीय भ्रमणमा छन् ।

अघिल्लोपटकको भ्रमणअघि भारतसँगको तनावपूर्ण सम्बन्धले केही खल्लो बनाएको उनको यस पटकको भ्रमणमा भने निक्कै रोचक घटना परिघटना काठमाडौंदेखि नै देखिएका थिए ।

नेपालमा पहिलोपटक प्रधानमन्त्रीको भ्रमण गणमा कलाकारहरू पनि सामेल गरिए । अभिनेता राजेश हमाल र दिनेश डिसीलाई प्रधानमन्त्रीको भ्रमण दलमा राखियो । त्यसबाहेक दिल्ली अवतरण गरेपछि झनै रोचक बन्यो भ्रमण ।

१. गिरिजापछिको स्वागत

ओलीलाई स्वागतका लागि भारत सरकारका मोदीपछिका वरियताका वरिष्ठ गृहमन्त्री राजनाथ सिंह इन्दिरा गान्धी विमानस्थल आए । नेपाल वायु सेवा निगमको जहाज लिएर दिल्ली अवतरण गरेका ओलीलाई शुक्रबार बिहान सिंहले विमानको ढोकासम्मै पुगेर भारतमा स्वागत गरे । जुन २०६३ पछि भारतले दिएको सबैभन्दा ठूलो सम्मान हो । त्यतिबेला गिरिजालाई स्वागत गर्न भारतीय प्रधानमन्त्री मनमोहन सिंह नै बिमानस्थल आएका थिए । यो बीचमा जति प्रधानमन्त्री भारत गए, उनीहरुले त्यो खाले सम्मान पाएका थिएनन् । तर, यसपटक ओलीलाई महत्व दिँदै भारतले दोस्रो वरियताका मन्त्रीलाई स्वागत गर्न पठायो । जुन एक हिसाबले राम्रो हो ।

२. भारतीय उद्योगीको ‘कुम्भ’मा अंग्रेजीमा सम्बोधन

शुक्रबार प्रधानमन्त्री ओलीले भारतका उद्योगी र व्यापारी व्यावसायीलाई अंग्रेजीमा सम्बोधन गरेका थिए । भारतका विभिन्न उद्यम व्यापार सम्बन्धि संस्थाले गरेको कार्यक्रम एउटा नयाँ कुम्भमेला जस्तो देखिएको थियो । ओलीले लगानीका लागि सुरक्षाको ग्यारेन्टि गर्दै उद्यमीलाई अंग्रेजीमा सम्बोधन गरेका थिए । उनको प्रस्तुति नै सानदार थियो ।

३. मोदीसँग ‘सरप्राइज’ भेट

प्रधानमन्त्री ओली एक्लै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निवासमा भेटका लागि पुगेका थिए । राजकीय भ्रमणका लागि पुगेका प्रधानमन्त्रीको समकक्षीसँगको भेटका लागि कुटनीतिक तयारी र समय तोकिएको हुन्छ । सेड्युलभन्दा फरक भेट गरेर ओलीले मोदीसँगको सम्बन्धबारे ‘सरप्राइज’ दिए ।

४. गार्ड अफ अनर

शनिबार बिहान प्रधानमन्त्री ओलीले भारत सरकारले प्रदान गरेको गार्ड अफ अनर लिएका छन् । भारत सरकारले दिएको गार्ड अफ अनर लिएपछि उनले भारतसँग रहेका विभिन्न असमझदारीको अन्त्य भएको प्रतिक्रिया पनि दिए ।

५. भारतीय राष्ट्रपतिको औपचारिक बधाई

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले प्रधानमन्त्री ओलीलाई औपचारिक रूपमा प्रधानमन्त्री निर्वाचित भएकोमा बधाई दिए । कोविन्द भ्रमणमा निस्कनुअघि यो भेट भएको थियो । कोविन्दले राष्ट्रपति भवनमा ओलीलाई आतिथ्य सत्कार गरी पूर्वनिर्धारित भ्रमणमा बाहिर निस्कने कार्यक्रम रहेको छ ।