कर्णाली । प्रहरीले सुर्खेतको वीरेन्द्रनगरबाट जुवा खेलिरहेका ५५ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट रु १२ लाख ३२ हजार ८४५ बरामद गरिएको छ । यस्तै, भारतीय मुद्रा १३ हजार १२५ बरामद भएको प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय, प्रदेश प्रहरी गण र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले आइतबार राति वीरेन्द्रनगरका विभिन्न स्थानमा छापा मारेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी दीपक मगराठीका अनुसार जुवा नियन्त्रण अभियानमा प्रहरीको प्रदेश तथा जिल्ला तहको संयोजनमा जुवाको खालबाट जुवाडेलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउपर्नेमा वीरेन्द्रनगरका स्थानीय, अछाम, बर्दिया, जुम्ला, दैलेख र कैलाली तथा भारतको विहारस्थित मोतिहारी जिल्लाका दुई जना रहेका छन् । जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।


