रोहिणी गाउँपालिकाले विद्यालयको पहुँचबाहिर रहेका तथा भर्ना भएर पनि नियमित अध्ययन नगरी बीचमै पढाइ छाड्ने बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यले ‘बालबगैँचा’ कार्यक्रम सुरु गरेको छ ।
नेपाल बाल कल्याण संस्था सिद्धार्थनगरले रुपन्देहीको रोहिणी गाउँपालिकामा बालबालिकाको सर्वाङ्गीण विकास, सिर्जनात्मक क्षमता अभिवृद्धि र खेल्दै सिक्ने वातावरण निर्माण गर्ने उद्देश्यसहित सो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
विद्यालयमा शिशु कक्षामा भर्ना भएका बालबालिकाको नियमित उपस्थिति सुनिश्चित गर्नुका साथै शिक्षाबाट वञ्चित बालबालिकाको पहिचान गरी विद्यालयसम्म पुर्याउने लक्ष्य कार्यक्रमले राखेको नेपाल बाल कल्याण संस्थाका अध्यक्ष धर्मबहादुर खड्काले जानकारी दिनुभयो ।
बालमैत्री वातावरण निर्माण गरी बालबालिकालाई विद्यालयप्रति आकर्षित गर्ने र सिकाइ प्रक्रियालाई रमाइलो बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । सो संस्थाका अनुसार बालबालिकाको नियमित उपस्थितिका लागि अभिभावकसँग निरन्तर सम्पर्क र समन्वय गरिने र कम्तीमा दुई वर्षसम्म सञ्चालन हुने सो कार्यक्रममा बालबालिकालाई पौष्टिक आहार, पोसाक तथा शैक्षिक सामग्री उपलब्ध गराइनेछ ।
‘बालबगैँचा’ कार्यक्रमअन्तर्गत अध्ययनरत विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण, आवश्यक उपचार, अतिरिक्त अध्ययन तथा विभिन्न सिर्जनात्मक र शैक्षिक गतिविधिसहित अभिभावक तथा समुदायलाई लक्षित गरी शिक्षाको महत्वसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने अध्यक्ष खड्काले बताउनुभयो ।
सार्वजनिक विद्यालयसँग सहकार्य गरी सञ्चालन हुने उक्त कार्यक्रमका लागि रु १० लाख खर्च हुने अनुमान गरिएको आयोजक संस्थाले जनाएको छ । विद्यालयमा भर्ना भएर पनि पढाइ छाड्ने तथा विद्यालयमा भर्ना नै नभएका बालबालिकाको अवस्था पहिचान गरी उनीहरूलाई शिक्षाको पहुँचमा ल्याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष खड्काले स्पष्ट गर्नुभयो ।
उहाँले बालबालिका नियमित विद्यालय नआउनुका कारण पहिचान गरी विद्यालय परिवार, अभिभावक र समुदायसँगको सहकार्यमा समाधान खोजिने जानकारी दिनुभयो । गरिबी तथा आर्थिक अभावका कारण बालबालिकाले पढाइ छाड्ने गरेको पाइएमा सम्बन्धित परिवारलाई लक्षित गरी आयआर्जनका कार्यक्रमसमेत सञ्चालन गर्ने योजना रहेको अध्यक्ष खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पढ्ने उमेरका बालबालिका किन विद्यालय गएका छैनन्, भर्ना भएर पनि किन बीचमै पढाइ छाड्छन् भन्ने विषयको मूल कारण पहिचान गर्न आवश्यक छ । सोहीअनुसार अभिभावक र समुदायसम्म पुगेर काम गर्ने प्रतिबद्धतासहित यो कार्यक्रम ल्याएका छौँ । यस अभियानलाई सफल बनाउन स्थानीयबासी तथा सबै सरोकारवाला निकायको सहयोग आवश्यक छ ।”
कार्यक्रम सञ्चालन गरिएको क्षेत्र आसपास आदिवासी, दलित, सीमान्तकृत, मुस्लिम तथा आर्थिक रूपमा विपन्न समुदायको उल्लेख्य बसोबास रहेको छ । आर्थिक तथा सामाजिक कारणले बालबालिकाको शिक्षामा निरन्तरता प्रभावित हुन सक्ने भएकाले विद्यालयको वातावरण सुधारसँगै परिवार र समुदायको सहभागितालाई पनि कार्यक्रमले प्राथमिकता दिएको छ ।
प्रदेश सरकारका पूर्वमन्त्री एवं स्थानीयवासी घनश्याम यादवले सो कार्यक्रमबाट बालबालिकाको शिक्षामा पहुँच विस्तारसँगै उनीहरूको मनोवैज्ञानिक र सिर्जनात्मक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । बालबालिकाको रुचि, क्षमता र मनोविज्ञानअनुसार सिकाइ प्रक्रिया अघि बढाउनसके शिक्षाप्रति आकर्षण बढ्ने उहाँको भनाइ थियो ।
उहाँले बालबालिकालाई डर र दबाबमा नभई रमाइलो वातावरणमा सिक्ने अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यबाट मात्र बालबालिकाको शिक्षालाई निरन्तरता दिन सकिने उहाँले बताउनुभयो । यसैगरी, सञ्चारकर्मी तथा लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुङ्गानाले बालबालिकाको शिक्षा र सर्वाङ्गीण विकासका लागि समुदायस्तरबाट सुरु गरिएको यस्तो अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले शिक्षाबाट वञ्चित बालबालिकाको पहिचान, अभिभावकमा चेतना अभिवृद्धि र विद्यालयमा नियमित उपस्थिति बढाउन कार्यक्रम केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
बालबालिकालाई विद्यालयमा भर्ना गराउनु मात्र पर्याप्त नभइ उनीहरूलाई नियमित विद्यालय आउने, सिक्ने र आफ्नो क्षमता विकास गर्ने वातावरण निर्माण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुने यथार्थलाई दृष्टिगत गरी ‘बालबगैँचा’ कार्यmक्रमप्रति स्थानीय शिक्षासेवीहरूको सकारात्मक प्रतिक्रिया दिँदै प्रतिबद्धताअनुसार निरन्तरताका लागि स्रोत सुनिश्चित हुन आवश्यक रहेको बताउनुभएको छ ।
दीपावली–२०८३ को अवसर पारी सुरु भएको सो कार्यक्रमप्रति स्थानीयबासीले खुसी व्यक्त गरेका छन् । उनीहरूले पढ्नबाट बञ्चित विशेषगरी यस क्षेत्रका गरिव तथा असहाय बालबालिकालाई लक्षित गरी ‘बालबगैँचा’ कार्यक्रम सञ्चालन गर्ने नेपाल बाल कल्याण संस्था, सिद्धार्थनगर र रोहिणी गाउँपालिकालाई धन्यवाद दिँदै कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्न अनुरोध गरेका छन् ।


