पत्रकार पक्राउले पञ्चायती शासनको झल्को दिएको बार अध्यक्ष मिश्रको टिप्पणी

अ+
अ
अ-

नेपाल बार एसोसिएशनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले सञ्चारमाध्यमका कार्यालयबाटै पत्रकारहरूलाई पक्राउ गर्ने घटनाले पञ्चायती शासनकालको झल्को दिएको बताएका छन्।

विभिन्न सञ्चारमाध्यमका पत्रकार पक्राउ परेको घटनाप्रति प्रतिक्रिया दिँदै अध्यक्ष मिश्रले प्रेसबाट गलत सामग्री प्रकाशित भएको भए कानुनी उपचार खोज्ने छुट्टै बाटो हुँदाहुँदै पत्रकारमाथि धरपकड र गिरफ्तारी गर्नु समस्या समाधानको उपाय नभएको बताएका हुन्।

यसअघि पनि सरकारले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई कार्यालयबाटै पक्राउ गरेको थियो। शुक्रबार नेपाल प्रेसका संवाददाता विश्वमणि सुवेदी, नयाँ पत्रिकाका पत्रकार नवराज मैनाली तथा दियो पोस्टका पत्रकारलाई पक्राउ गर्नुका साथै विभिन्न सञ्चारमाध्यममा प्रहरी पुगेको घटनाले प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाएको छ।