ह्यारी केनलाई ब्यालन डी’ओर

England and Bayern Munich forward Harry Kane kisses the trophy on stage after receiving the Ballon d'Or award for the best male footballer during the 2026 Ballon d'Or France Football award ceremony at the Palladium Theatre in London on October 26, 2026. (Photo by FRANCK FIFE / AFP)
अ+
अ
अ-

इङ्ल्यान्डका कप्तान ह्यारी केनले स्पेनका लामिन यमल र फ्रान्सका किलियन एमबाप्पेलाई पछि पार्दै सन् २०२६ को पुरुष ब्यालन डी’ओर जित्नुभएको छ । उहाँ सन् २००१ मा माइकल ओवेनपछि यो पुरस्कार जित्ने पहिलो इङ्लिस खेलाडी बन्नुभएको छ ।

तेत्तिस वर्षीय बायर्न म्युनिखका फरवार्ड केनले गत सिजन क्लब र देशका लागि खेलेका ६५ खेलमा ७३ गोल गर्नुभएको थियो । उहाँको योगदानमा बायर्नले लिग र कप दुवै उपाधि जितेको थियो । विश्वकपमा तेस्रो भएको इङ्ल्यान्डका लागि उहाँले छ गोल गर्नुभएको थियो । सन् २०२३ मा बायर्नमा आबद्ध भएपछि उहाँको उत्कृष्ट गोल प्रदर्शनले व्यक्तिगत सफलताको बाटो खोलेको हो ।

महिलातर्फ स्पेनकी एलेक्सिया पुटेलासले तेस्रोपटक ब्यालन डी’ओर जित्नुभयो । उहाँले गत सिजन बार्सिलोनालाई च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । घुँडाको गम्भीर चोटपछि उहाँ पुनः शीर्ष स्थानमा फर्किनुभएको हो । यसअघि लगातार तीन वर्ष विजेता बन्नुभएकी एटाना बोनमाटी खुट्टा भाँचिएका कारण यसपटक उपाधि दौडबाट बाहिरिनुभएको थियो ।

बार्सिलोनाका १९ वर्षीय यमलले लगातार तेस्रोपटक वर्षको उत्कृष्ट युवा खेलाडीको पुरस्कार जित्नुभयो । पुरुष ब्यालन डी’ओरमा उहाँ तेस्रो हुनुभयो भने एमबाप्पे दोस्रो स्थानमा रहनुभयो । विश्वकप, च्याम्पियन्स लिग र ला लिगामा सर्वाधिक गोलकर्ता बने पनि एमबाप्पेले यसपटक प्रमुख टोलीगत उपाधि जित्न सक्नुभएन ।

स्पेनलाई विश्वकप उपाधि दिलाउनुभएका लुइस डे ला फुएन्टे उत्कृष्ट पुरुष प्रशिक्षक घोषित हुनुभयो । बार्सिलोनाका पेरे रोम्युले महिला प्रशिक्षकको पुरस्कार जित्नुभयो । लगातार दोस्रोपटक च्याम्पियन्स लिग जितेको पेरिस सेन्ट जर्मेन वर्षको उत्कृष्ट पुरुष क्लब बन्यो । स्पेनका उनाई सिमोन र काटा कोल उत्कृष्ट पुरुष तथा महिला गोलकिपर घोषित हुनुभयो ।
–––