दसैँ दशा नबनोस्: देखासिकी होइन, गच्छेअनुसार खुसी मनाऔँ

अ+
अ
अ-

लेखनाथ सिकारू

दसैँ खुसी साट्ने पर्व हो, ऋण बोक्ने होइन। तर बदलिँदो सामाजिक प्रवृत्तिले चाडपर्वको मौलिकता बिस्तारै ओझेलमा पार्दै छ। अरूले नयाँ लुगा लगाए आफूले पनि लगाउनैपर्ने, अरूको घरमा महँगो भोज भयो आफूले पनि गर्नैपर्ने र समाजमा आफ्नो हैसियत देखाउन क्षमताभन्दा बढी खर्च गर्नुपर्ने मनोविज्ञानले दसैँलाई उत्सवभन्दा आर्थिक दबाबको विषय बनाउँदै लगेको छ। ऋण गरेर मनाइएको चाडको खुसी क्षणिक हुन्छ, तर त्यसको भार महिनौँसम्म बोक्नुपर्ने बाध्यता दीर्घकालीन हुन्छ। त्यसैले दसैँलाई दशा बन्न नदिने हो भने हाम्रो सोच, व्यवहार र चाडपर्व मनाउने शैलीमै परिवर्तन आवश्यक छ।

दसैँ नेपाली समाजको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पारिवारिक आत्मीयतासँग जोडिएको पर्व हो। टाढिएका आफन्त भेट्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने, बालबालिकालाई माया दिने तथा परिवारसँग सुखद समय बिताउने अवसरका रूपमा यसको विशेष महत्त्व छ। गाउँघरमा लिङ्गे पिङको रौनक, घरआँगनको चहलपहल र आफन्तको जमघटले दसैँलाई जीवन्त बनाउँछन्। यी परम्पराको सुन्दरता महँगो लुगा, महँगो खानपान वा भड्किलो प्रदर्शनमा होइन, आपसी सम्बन्ध र आत्मीयतामा निहित छ। तर जब पर्वको खुसीलाई धनसम्पत्ति र खर्चसँग तुलना गर्न थालिन्छ, त्यहीँबाट यसको मौलिक उद्देश्य कमजोर हुन थाल्छ।

‘आयो दसैँ ढोल पिटाई, गयो दसैँ ऋण बोकाई’ भन्ने पुरानो नेपाली उखान आज पनि उत्तिकै सान्दर्भिक सुनिन्छ। दसैँ आउँदा बजारमा बढ्ने चहलपहलसँगै कतिपय परिवारमा खर्चको चिन्ता पनि बढ्छ। कसैले बालबालिकाको शिक्षाका लागि छुट्याएको पैसा खर्च गर्छन्, कसैले दैनिक आवश्यकताका लागि जोहो गरेको रकम चाडपर्वमा सकाउँछन्, त कसैले सामाजिक प्रतिष्ठा जोगाउने नाममा ऋण लिन बाध्य हुन्छन्। पर्व सकिएपछि टीकाको रङ मेटिँदै जान्छ, तर ऋणको किस्ता र ब्याजको बोझ बाँकी रहन्छ। यस्तो अवस्थामा दसैँले दिएको खुसीभन्दा त्यसपछि निम्तिएको आर्थिक तनाव ठूलो बन्न पुग्छ।

समस्या चाडपर्वमा खर्च गर्नु होइन, आफ्नो क्षमताभन्दा बढी खर्च गर्नुपर्ने सामाजिक दबाब हो। आफ्नो आर्थिक अवस्था कमजोर भए पनि अरूका अगाडि कमजोर देखिन नचाहने प्रवृत्तिले सामान्य आवश्यकतालाई समेत प्रतिष्ठाको विषय बनाएको छ। कसले कति महँगो कपडा किन्यो, कसको घरमा कस्तो परिकार पाक्यो र कसले कति दक्षिणा दियो भन्ने तुलना गर्दै जाने हो भने चाडपर्व आत्मीयताको माध्यम होइन, सामाजिक प्रतिस्पर्धाको अखडा बन्नेछ। सामाजिक सञ्जालमा देखिने तडकभडकले पनि यस्तो मनोविज्ञानलाई थप मलजल गरेको छ। अरूले देखाएको जीवनशैलीलाई आफ्नो आवश्यकतासँग तुलना गर्दा मानिसले आफ्नो वास्तविक आर्थिक अवस्थालाई बेवास्ता गर्न थाल्छ।

दसैँमा नयाँ लुगा लगाउनु, मीठोमसिनो खानु र परिवारलाई खुसी दिनु स्वाभाविक हो। तर नयाँ लुगा नलगाउँदैमा दसैँ खल्लो हुँदैन, महँगो परिकार नपकाउँदैमा परिवारको प्रेम घट्दैन र ठूलो दक्षिणा दिन नसक्दैमा आशीर्वादको महत्त्व कम हुँदैन। खुसीको मापन खर्चले होइन, त्यसले मनमा ल्याउने सन्तुष्टिले गर्नुपर्छ। आफ्नो गच्छेअनुसार चाड मनाउनु कमजोरी होइन, आर्थिक विवेकको परिचय हो। अरूको देखासिकीमा खर्च गर्नुभन्दा आफ्नो परिवारको आवश्यकता बुझ्नु र भविष्यको सुरक्षालाई प्राथमिकता दिनु नै जिम्मेवार व्यवहार हो।

चाडपर्वलाई बोझिलो बनाउने अर्को पक्ष बजारको महँगी र कमजोर नियमन हो। दसैँ–तिहारजस्ता पर्व नजिकिँदा खाद्यान्न, लत्ताकपडा, तरकारी, फलफूल र यातायात सेवाको मूल्य बढ्ने गुनासो उपभोक्ताले बारम्बार गर्दै आएका छन्। माग बढेको अवसर छोपेर अनुचित मूल्य असुल्ने, गुणस्तरमा सम्झौता गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्तिले सर्वसाधारणको खर्च थप बढाउँछ। सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्नु सकारात्मक भए पनि त्यसको प्रभावकारिता, मूल्यको वास्तविक अन्तर र आम उपभोक्ताको पहुँच सुनिश्चित हुनु उत्तिकै आवश्यक छ। औपचारिकताका लागि पसल खोल्नु मात्र पर्याप्त हुँदैनस बजारमा मूल्य नियन्त्रण, नियमित अनुगमन र कालोबजारीविरुद्ध प्रभावकारी कारबाही हुनुपर्छ।

यद्यपि बजार महँगो भयो भन्दैमा आफ्नो खर्चको सम्पूर्ण जिम्मेवारी अरूमाथि थोपर्न मिल्दैन। सरकारले उपभोक्तालाई राहत दिने व्यवस्था गर्नुपर्छ, व्यवसायीले अनुचित नाफाखोरी त्याग्नुपर्छ र उपभोक्ताले पनि आवश्यकताअनुसार खरिद गर्ने बानी विकास गर्नुपर्छ। चाडपर्वको नाममा अनावश्यक सामान थुपार्ने, प्रतिस्पर्धाका लागि महँगा वस्तु किन्ने र क्षणिक आवेगमा खर्च गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न सके परिवारको अर्थतन्त्रमा ठूलो राहत पुग्न सक्छ। दसैँको बजेट बनाउँदा आम्दानी, नियमित खर्च, ऋणको अवस्था र भविष्यका आवश्यकतालाई ध्यान दिनु आवश्यक छ।

आर्थिक अनुशासनसँगै चाडपर्वको सामाजिक पक्षलाई पनि गम्भीरतापूर्वक हेर्नुपर्छ। दसैँ मेलमिलाप र सद्भावको पर्व हो, तर यही समयमा जुवातास, अत्यधिक मद्यपान र उच्छृङ्खल गतिविधिले कतिपय परिवारको शान्ति भङ्ग गर्ने गरेका छन्। जुवामा पैसा हार्ने, मदिराको नशामा विवाद गर्ने र सानातिना विषयमा झगडा बढाउने व्यवहारले चाडपर्वको वास्तविक मर्मलाई नै कमजोर बनाउँछ। परिवारका सदस्य एकै ठाउँमा भेला हुँदा प्रेम र समझदारी बढ्नुपर्ने हो, तर असंयमित व्यवहारका कारण तनाव, हिंसा र वैमनस्यता बढ्नु विडम्बना हो। उत्सव मनाउने नाममा आफ्नो र अरूको जीवनलाई जोखिममा पार्ने गतिविधि कुनै पनि अर्थमा संस्कृतिको संरक्षण हुन सक्दैन।

खानपानमा संयम राख्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। लामो समयदेखि चलिआएको परम्परा र पारिवारिक भेटघाटका कारण दसैँमा मीठोमसिनो खाने चलन छ। तर स्वादको मोहमा आवश्यकताभन्दा बढी खानु, अत्यधिक चिल्लो र बोसोयुक्त परिकार सेवन गर्नु तथा नियमित दिनचर्या बिगार्नु स्वास्थ्यका दृष्टिले उचित होइन। चाडपर्वपछि स्वास्थ्य समस्या देखिन नदिन सन्तुलित भोजन, पर्याप्त आराम र शारीरिक सक्रियतालाई प्राथमिकता दिनुपर्छ। रमाइलोका नाममा आफ्नो स्वास्थ्यप्रति लापरबाही गर्नु भनेको खुसीको अवसरलाई आफैँले दुःखमा बदल्नु हो।

चाडपर्वको समयमा घरको सुरक्षा र व्यक्तिगत सावधानी पनि बिर्सनु हुँदैन। आफन्त भेट्न गाउँ जाने वा लामो यात्रामा निस्कने क्रममा घरको सुरक्षा व्यवस्था मिलाउनु, विद्युतीय उपकरण र ग्यास बन्द गर्नु तथा सामाजिक सञ्जालमा यात्रासम्बन्धी संवेदनशील विवरण सार्वजनिक गर्दा सावधानी अपनाउनु आवश्यक छ। चाडपर्वमा सडक दुर्घटना, चोरी र अन्य जोखिमबाट बच्न व्यक्तिगत सतर्कतासँगै सम्बन्धित निकायको प्रभावकारी व्यवस्थापन पनि जरुरी हुन्छ। खुसी मनाउने तयारी गर्दा सम्भावित जोखिमलाई बेवास्ता गर्नु हुँदैन।

दसैँलाई सहज र अर्थपूर्ण बनाउने जिम्मेवारी परिवारबाटै सुरु हुन्छ। अभिभावकले बालबालिकालाई महँगो उपहार र नयाँ कपडामै चाडपर्वको खुसी सीमित हुँदैन भन्ने सिकाउनुपर्छ। आफन्तलाई माया गर्न, ज्येष्ठ नागरिकको सम्मान गर्न, दुःखमा परेकालाई सहयोग गर्न र आफ्नो सामर्थ्यअनुसार खर्च गर्न प्रेरित गर्नुपर्छ। दक्षिणी हातबाट दिइने रकमभन्दा त्यससँग जोडिएको स्नेह ठूलो हुन्छ भन्ने संस्कार विकास गर्न सके नयाँ पुस्ताले चाडपर्वलाई प्रदर्शन होइन, सम्बन्धको उत्सवका रूपमा बुझ्नेछ। घरमा आर्थिक अवस्था कमजोर भएका सदस्य वा आफन्त छन् भने उनीहरूलाई खर्च गर्न दबाब दिनुभन्दा सहज महसुस हुने वातावरण बनाउनु नै साँचो आत्मीयता हो।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न देश हो। यहाँका चाडपर्वले फरक समुदायलाई आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सूत्रमा जोड्दै आएका छन्। दसैँको महत्त्व पनि यही साझा सामाजिक सम्बन्धमा छ। पर्व मनाउने तरिका फरक हुन सक्छ, आर्थिक हैसियत फरक हुन सक्छ र पारिवारिक आवश्यकता पनि समान नहुन सक्छन्। तर खुसी मनाउने अधिकार सबैको बराबर छ। त्यसैले कसैको आर्थिक अवस्थालाई लिएर तुलना गर्ने, खर्च गर्न नसक्नेलाई हेयको दृष्टिले हेर्ने वा महँगो उपहार र दक्षिणालाई प्रतिष्ठाको मापदण्ड बनाउने सोच त्याग्नुपर्छ। चाडपर्वको सुन्दरता सबैले समान रूपमा सम्मान र आत्मीयता अनुभव गर्न पाउनुमा छ।

अन्ततः दसैँ कति खर्च गरेर मनाइयो भन्ने प्रश्नभन्दा कति खुसी बाँडियो भन्ने प्रश्न महत्त्वपूर्ण हो। घरमा कति परिकार पाकेभन्दा परिवारका सदस्यबीच कति आत्मीयता बढ्यो भन्ने कुरा ठूलो हो। कति महँगो कपडा लगाइयोभन्दा कसको अनुहारमा मुस्कान ल्याउन सकियो भन्ने कुराले पर्वको सार्थकता निर्धारण गर्छ। आर्थिक कठिनाइका बीच देखासिकीका लागि ऋण लिनु, सामाजिक दबाबमा अनावश्यक खर्च गर्नु र क्षणिक रमाइलोका लागि दीर्घकालीन समस्या निम्त्याउनु बुद्धिमानी होइन।

यस वर्षको बडादसैँलाई पुरानो उखान ‘आयो दसैँ ढोल पिटाई, गयो दसैँ ऋण बोकाई’ को अपवाद बनाऔँ। आफ्नो आम्दानी र क्षमताअनुसार खर्च गरौँ, अनावश्यक प्रतिस्पर्धा त्यागौँ, बजारको अनुचित मूल्यवृद्धिविरुद्ध आवाज उठाऔँ र स्वास्थ्य तथा सामाजिक सद्भावलाई प्राथमिकता दिऔँ। आर्थिक अवस्था कमजोर भएकालाई खर्चका लागि बाध्य पार्ने होइन, उनीहरूको आत्मसम्मान जोगाउने वातावरण बनाऔँ। दसैँको खुसी ऋणको भारीमा नपुरियोस्, पारिवारिक सम्बन्ध देखावटी प्रतिष्ठाको प्रतिस्पर्धामा नहराओस् र चाडपर्वको मौलिकता व्यवसायीकरणको चपेटामा नपरोस्।

दसैँ दशा होइन, आशा बनोस्। खर्चको प्रतिस्पर्धा होइन, सम्बन्धको उत्सव बनोस्। धनको प्रदर्शन होइन, मनको उदारता बनोस्। आफ्नो गच्छेअनुसार चाड मनाउने, अरूको अवस्थाको सम्मान गर्ने र सादगीमै खुसी खोज्ने संस्कार विकास गर्न सके मात्रै दसैँको वास्तविक महत्त्व जोगाउन सकिन्छ। किनकि चाडपर्वको सफलता खर्चको आकारमा होइन, मनको सन्तुष्टि र सम्बन्धको गहिराइमा मापन हुन्छ। सम्पूर्ण नेपालीमा बडादसैँ, तिहार, छठ पर्व एवं नेपाल संवत्को हार्दिक मंगलमय शुभकामना।