जोखिममा रहेका बस्तीमा थप पर्खाल निर्माण र विपद् कोषबाट राहत दिन सांसद खरेलको माग

अ+
अ
अ-

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुलभ खरेलले जोखिमपूर्ण अवस्थामा रहेका बस्तीको संरक्षणका लागि आवश्यक संरचना निर्माण गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खरेलले जोखिममा रहेका क्षेत्रमा अहिले निर्माण भइरहेका संरचना मात्रै पर्याप्त नभएको भन्दै थप आरसीसी वाल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले स्थानीय तहले मात्रै राहत वितरण तथा विपद् व्यवस्थापनको सम्पूर्ण समस्या समाधान गर्न नसकिरहेको अवस्था देखिएको भन्दै संघीय सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन विपद् व्यवस्थापनसम्बन्धी कोषको प्रभावकारी प्रयोग गरी प्रभावित नागरिकलाई राहत उपलब्ध गराउनुपर्ने उनको माग थियो।

सांसद खरेलले आफ्नो क्षेत्रका जनताको आवाज संसदमा उठाउँदै विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन समाधानका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए।

उनले भने, “स्थानीय तहले मात्रै राहत वितरणबाट सम्पूर्ण समस्याको समाधान गर्न नसकिरहेको अवस्था छ। त्यसैले विपद् व्यवस्थापन तथा राहतका लागि रहेको कोषको प्रयोग गरी प्रभावित नागरिकलाई राहत प्रदान गर्दै दीर्घकालीन समाधान गर्न सरकारसँग अनुरोध गर्दछु।”