नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

अ+
अ
अ-

नारायणगढ । अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गअन्तर्गत चितवन तथा धादिङका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न स्थानमा लगातार साना–ठूला पहिरो खसिरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन सकिने अवस्था छैन । निरन्तर वर्षा भइरहेका कारण पहिरो झर्ने र ढुङ्गा खस्ने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक पुनः भासिएपछि उक्त स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । यसअघि पनि उक्त स्थानमा सडक भासिएपछि एकतर्फी रूपमा यातायात सञ्चालन हुँदै आएको थियो ।

यस्तै, इच्छाकामना गाउँपालिका–५ सिमलधारामा माथिबाट पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध भएको छ । इच्छाकामना–५ कै तुइनखोला र नाम्सीखोलामा माथिबाट ढुङ्गा तथा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला, नाम्से पुल, १५ किलो र १७ किलोमा पनि सामान्य ढुङ्गामाटो खसेको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–७ कृष्णभिर र ज्यामिरेघाटमा माथिबाट पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध भएको छ । गजुरी गाउँपालिका–६ जरेखेत र थाक्रे गाउँपालिका–२ कमेरेभिरमा पनि पहिरोका कारण सडक प्रभावित भएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो ।

कृष्णभिर, सिमलधारा, धारापानी, नाम्सीखोला र तुइनखोलामा सडकमा खसेको पहिरो हटाउने काम जारी रहेको उहाँले बताउनुभयो । तर निरन्तर वर्षा भइरहेकाले धेरै स्थानमा पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सडक सञ्चालनमा आउने अवस्था नरहेको प्रहरी उपरीक्षक पाण्डेको भनाइ छ ।