बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

अ+
अ
अ-

काठमाडौँ। नेपाल-बङ्गलादेश मैत्री सङ्घ (Nepal Bangladesh Friendship Association) र पिपुल सार्क लिङ्क फोरम, (People SAARC Link Forum ) को संयुक्त आयोजनामा सम्पन्न बङ्गलादेशका उच्च पदस्थ अधिकारी र नेपालका प्रबुद्ध वर्गहरूको एक विशेष समारोहका बिच ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६’ प्रदान गरिएको छ । पर्यटन प्रवर्द्धनतर्फ बङ्गलादेशका प्रसिद्ध उद्योगपति रबिउल इस्लाम र साहित्य तथा पत्रकारिता तर्फ नेपालका साहित्यकार एवं पत्रकार ज्योतिकिरणलाई उक्त प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो ।

​पुरस्कृत व्यक्तित्व बङ्गलादेशका ख्यातिप्राप्त उद्योगपति एवं सामाजिक अभियान्ता रबिउल इस्लाम ‘आरआर ग्रुप’ (RR Group) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुहुन्छ। उहाँले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो।

​त्यस्तै, साहित्य र पत्रकारितामा पुर्‍याएको विशिष्ट योगदानका लागि नेपाली साहित्यकार ज्योतिकिरणलाई उक्त अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मानित गरिएको हो । ताप्लेजुङ जिल्लाको साब्लाखु-५, आलेटारमा जन्मनुभएका ज्योतिकिरण विगत २५ वर्षदेखि निरन्तर नेपाली साहित्य क्षेत्रमा क्रियाशील हुनुहुन्छ। आख्यान तथा गैर-आख्यान लेखनमा सक्रिय उहाँ। गीत, गजल, कविता, निबन्ध र नाटकजस्ता विविध विधाहरूमा कलम चलाउँदै आउनुभएको छ । उहाँका ‘नेपाली राजनीति र विचार रक्षाको प्रश्न’ तथा ‘विद्रोहको दर्शन र काव्य सत्ता’ जस्ता राजनीति र साहित्यसँग सम्बन्धित वैचारिक र दार्शनिक पुस्तकहरू प्रकाशित छन्। उहाँ विगत एक दशकदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आबद्ध रहेर पत्रकारिता क्षेत्रमा समेत क्रियाशील हुनुहुन्छ।

​प्रतिनिधि सभा सदस्य आशा झाको प्रमुख आतिथ्य तथा हरिबहादुर बिसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन नेपालका तर्फबाट दिनदया रिजाल र बङ्गलादेशका तर्फबाट मो. रबिवल होसेन रबि ले गर्नुभएको थियो।

​समारोहमा वरिष्ठ चिकित्सक एवं साहित्यकार डा. भोला रिजाल, इतिहासकार तथा राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसी, ढाका मेडिकल कलेज र अस्पतालका (फिजियोलोजी) पूर्व विभाग प्रमुख प्रोफेसर डा. रुहुल अमिन, बङ्गलादेश राष्ट्रिवादी कृषक दल केन्द्रीय समितिका सहायक महासचिव एड्भोकेट मो. रबिवल होसेन रबि, बङ्गलादेश कोअपरेटिभ इन्स्योरेन्स कम्पनीका प्रबन्ध निर्देशक मो. नुर ए आलम सिद्दिकी, बङ्गलादेशका वरिष्ठ पत्रकार मो. शमसुद्दोहा प्रिन्स, र पत्रकार तथा सहकारी अभियान्ता मो. अतिकुर रहमान लगायतले प्रमुख वक्ताका रूपमा आफ्ना धारणा राख्नुभएको थियो।

​सो अवसरमा बङ्गलादेशका स्वतन्त्रता सेनानी एस.एम. नुरुल इस्लाम, एमडी. मिन्हाज महमुद, एमडी. सेलिम रेजा तथा मार्टिनेट आउटसोर्सिङ ढाकाका प्रबन्ध निर्देशक लायन इन्जिनियर काजी मोनिरुल इस्लाम लगायत बङ्गलादेशी अधिकारीहरू र नेपालका प्रबुद्ध समूहको विशेष उपस्थिति रहेको थियो।