न्यायपालिकाको विषयलाई लिएर संसदमा सत्तापक्ष र विपक्षी सांसद बीच विवाद

अ+
अ
अ-

काठमाडौं । न्यायपालिकाको विषयलाई लिएर प्रतिनिधिसभामा आज पनि सत्ता पक्ष र विपक्षी सांसदबीच विवाद भएको छ।

नेकपा एमालेका सांसद गुरु बरालले अदालतप्रति सत्तापक्षीय सांसदहरूबाट बारम्बार प्रहार भइरहेको भन्दै संसदमा आवाज उठाएपछि सत्तापक्षीय सांसद यज्ञमणि नेउपानेले आपत्ति जनाएका थिए। सभामुखको अनुमतिपछि बोल्दै नेउपानेले अदालतलाई कमजोर बनाउन नभई सक्षम, स्वच्छ र निष्पक्ष बनाउन संसदमा आवाज उठाइरहेको दाबी गरे।

उनले अदालतमा सिन्डिकेट लागू गरेका पुराना राजनीतिक दलहरूले अहिले अदालत सिन्डिकेटविहीन, स्वच्छ र निष्पक्ष हुनुपर्ने विषयमा छलफल गरिरहेको टिप्पणी गरे।

न्यायाधीशबाट गलत फैसला भए त्यसको आधारमा आवश्यक कारबाही हुनुपर्ने र आवश्यक परे महाभियोगसम्मको प्रक्रिया अघि बढाउनुपर्ने विषय आफूहरूले उठाउँदै आएको नेउपानेले बताए। अदालतका निर्णयमाथि प्रश्न उठाउँदा त्यसलाई न्यायपालिकामाथिको प्रहारका रूपमा व्याख्या गर्न नहुने उनको भनाइ थियो।

मुद्दाको पुनरावेदन नसुनेको वा गलत फैसला भएको भन्ने विषयमा समेत कानुन र संविधानले दिएको अधिकारअनुसार विचार गर्न सकिने व्यवस्था सुनिश्चित गर्न आफूहरू लागिरहेको उनले बताए।

नेउपानेले स्वतन्त्र न्यायपालिकालाई कमजोर पार्ने नभई त्यसलाई अझ जिम्मेवार, स्वच्छ र प्रभावकारी बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी संसदमार्फत सक्रिय रहेको दाबी गरे।

न्यायपालिकाको स्वतन्त्रता, न्यायाधीशको जवाफदेहिता र अदालतका फैसलामाथि संसदमा भइरहेको बहसले सत्ता पक्ष र विपक्षबीच थप विवाद सिर्जना गरेको छ।