अदालत र न्यायाधीशविरुद्ध टीकाटिप्पणी गर्न नपाइने

अ+
अ
अ-

खोटाङ । नेपाल बार एसोसिएसन खोटाङ एकाइले जिल्ला अदालत खोटाङबाट भएको फैसलालाई लिएर सार्वजनिक रूपमा अदालत तथा न्यायाधीशविरुद्ध टीकाटिप्पणी र आलोचना भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बार एसोसिएसनले विज्ञप्ति जारी गर्दै असोज ५ गते जिल्ला अदालत खोटाङबाट भएको फैसलालाई लिएर अदालत तथा न्यायाधीशविरुद्ध सार्वजनिक स्थानमा गरिएका अपमानजनक, असान्दर्भिक टीकाटिप्पणी तथा आलोचनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६ वर्षीया रेश्मिका परियारको हत्यामा संलग्न आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीको एकल इजलासले असोज ५ गते सफाइ दिएपछि पीडित परिवार तथा आफन्तले अदालत परिसरमै आक्रोश व्यक्त गर्दै नाराबाजी गरेका थिए । सोही घटनालाई लक्षित गर्दै नेपाल बार एसोसिएसनले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।

जिल्ला अध्यक्ष कुलप्रसाद शर्मा फुयालद्वारा जारी विज्ञप्तिमा फैसला तथा न्यायिक आदेशमा चित्त नबुझे प्रचलित कानुनबमोजिम पुनरावेदन, पुनरावलोकन तथा निवेदनलगायत न्यायिक उपचारका माध्यम अपनाउने अधिकार प्रत्येक पक्षलाई रहेको उल्लेख गरिएको छ । तर, फैसलाप्रति असहमति रहेको भन्दै अदालत वा न्यायाधीशको इज्जत, मानप्रतिष्ठा, चरित्र वा निष्ठामाथि प्रश्न उठाउने, अपमानजनक वा लाञ्छनायुक्त अभिव्यक्ति दिने तथा सम्बन्धित विषयलाई अतिरञ्जित रूपमा प्रचार गर्ने कार्यले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र जनआस्थामा प्रतिकूल प्रभाव पार्न सक्ने भन्दै त्यस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।