महँगी नियन्त्रण र बाढीपहिरोको पूर्वतयारीबारे संसदमा बलावती शर्माको प्रश्न

काठमाडौँ, ७ असोजः प्रतिनिधिसभा बैठकमा सांसद शर्मा सिंहदरबारस्थित सङ्घीय संसद भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद बलावती शर्मा । तस्बिरः रत्न श्रेष्ठ/रासस
अ+
अ
अ-

काठमाडौं । सांसद बलावती शर्माले दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढिरहेको भन्दै सरकारसँग महँगी नियन्त्रणका लागि तत्काल कदम चाल्न माग गरेकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले बजारमा रायो साग प्रतिकेजी २७० रुपैयाँ, चिनी १७० रुपैयाँ पुगेको बताइन्। उनले आलु, प्याज, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्यसमेत दिनप्रतिदिन बढिरहेको उल्लेख गरिन्।

उनले कुखुराको मासु झन्डै ५०० रुपैयाँ र खसी–बोकाको मासु प्रतिकेजी १ हजार ७०० रुपैयाँभन्दा माथि पुगेको बताउँदै चाडपर्वको मुखमा समेत मूल्य निरन्तर उकालो लागेकोप्रति सरकारको ध्यानाकर्षण गराइन्।

शर्माले बजारमा कालोबजारी तथा मूल्यवृद्धि नियन्त्रण गर्ने राज्यका सम्बन्धित निकायले के काम गरिरहेका छन् भन्ने प्रश्नसमेत गरिन्। जनतालाई दैनिक उपभोग्य वस्तु सहज रूपमा उपलब्ध गराउने दायित्व सरकारको भएको उनको भनाइ थियो।

त्यस्तै, उनले आगामी असोज ८ देखि १२ गतेसम्म वर्षा र बाढीको सम्भावना रहेको मौसम पूर्वानुमान भइरहेका बेला सरकारले जनतालाई सुरक्षित राख्न के–कस्तो पूर्वतयारी गरेको छ भन्ने प्रश्न गरिन्।

उनले विगतमा भोटेकोसीमा आएको जस्तो विपद्को अवस्था जनताले फेरि भोग्न नपरोस् भन्दै सम्भावित बाढीपहिरोबाट नागरिकलाई जोगाउन सरकारको पूर्वतयारी प्रभावकारी हुनुपर्ने बताइन्।