काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले पार्टी पुनर्गठन कार्यदलले बुझाएको प्रतिवेदनलाई औपचारिकता दिएको छ। उक्त प्रतिवेदन अब केन्द्रीय समितीको बैठकमा पेस गरी छलफल अघि बढाइने भएको छ।
पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार केन्द्रीय समिती बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनलगायतका विषयसँगै पुनर्गठन कार्यदलको प्रतिवेदन पनि छलफलका लागि प्रस्तुत गरिनेछ।
कार्यदलले आइतबार प्रतिवेदन बुझाएसँगै त्यसको कार्यादेशसमेत पूरा भएको छ। नेता प्रदीप ज्ञवालीको नेतृत्वमा तयार भएको प्रतिवेदनमा अध्यक्ष ओलीलाई तत्काल नेतृत्वबाट हटाउने प्रस्ताव नरहेको बताइएको छ।
यसअघि गठित १५ सदस्यीय कार्यदलले भने निर्वाचनको समीक्षा तथा पार्टी पुनर्गठनका विषयमा सुझावसहित प्रतिवेदन तयार गरेको थियो। उक्त प्रतिवेदनमा पार्टी पुनर्गठनका लागि अध्यक्ष ओलीले नेतृत्वबाट हट्नुपर्ने सुझाव समेटिएको थियो।
अब दुवै प्रतिवेदनका विषय केन्द्रीय कमिटीमा छलफल हुने र त्यसपछि पार्टीले आवश्यक निर्णय लिने एक नेताले बताए।


