ललितपुर — नेपाली कांग्रेसले आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा हुने निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृतहरूका लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म पार्टीको १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ। महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा निर्वाचन प्रक्रिया सम्पन्न गर्न निर्वाचन अधिकृतहरू तोकिएको पार्टीले जनाएको छ।
तोकिएका निर्वाचन अधिकृतहरूलाई निर्वाचनसम्बन्धी प्रक्रिया, जिम्मेवारी तथा आवश्यक व्यवस्थापनबारे जानकारी गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको हो। प्रशिक्षणमार्फत निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक विषयमा जानकारी प्रदान गरिने जनाइएको छ।
नेपाली कांग्रेसका अनुसार प्रशिक्षण कार्यक्रम २०८३ भदौ २ गते मंगलबार दिउँसो २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आयोजना हुनेछ।
प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको समुपस्थिति रहनेछ। पार्टीले प्रशिक्षण कार्यक्रममा सम्बन्धित निर्वाचन अधिकृत तथा सरोकारवाला सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।
निर्वाचन अधिकृतको प्रशिक्षण कार्यक्रमलाई आगामी महाधिवेशनअन्तर्गतका निर्वाचन प्रक्रिया व्यवस्थित बनाउन महत्वपूर्ण तयारीका रूपमा हेरिएको छ। जिल्लास्तरमा हुने निर्वाचनलाई निर्धारित प्रक्रिया र मापदण्डअनुसार सम्पन्न गर्न प्रशिक्षणले सहयोग पुग्ने कांग्रेसको अपेक्षा छ।
नेपाली कांग्रेसले प्रशिक्षण कार्यक्रमको संयोजन प्रेमबहादुर खड्काले गर्ने जनाएकाे छ । पार्टीले सम्बन्धित सबैलाई तोकिएको समय र स्थानमा उपस्थित हुन आग्रह गरेको छ।

