काठमाडौंमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री गर्दै आयल निगम

+
-

काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन शनिबार विभिन्न स्थानबाट ६ हजार ८०२ वटा ग्यास सिलिन्डर प्रत्यक्ष रूपमा उपभोक्तालाई बिक्री–वितरण गरेको जनाएको छ।

निगमले शनिबार टेकु परिसर, यातायात कार्यालय चाबहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर वसुन्धरा र पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलस्थित बिक्री केन्द्रबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री गरेको हो।

निगमका अनुसार बिक्रीका क्रममा केही ब्रान्डका सिलिन्डर सकिएपछि समयमै सम्बन्धित स्थानमा उपस्थित भएका उपभोक्तालाई कुपनमार्फत भोलि पहिलो प्राथमिकतामा राखेर ग्यास सिलिन्डर उपलब्ध गराउने व्यवस्था गरिएको छ।

यसैगरी, आइतबार काठमाडौं उपत्यकाका थप सात स्थानबाट अत्यावश्यक भएका उपभोक्ताका लागि एलपी ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जानकारी निगमले दिएको छ।

निगमले उपभोक्तालाई ग्यासको अनावश्यक सञ्चय नगर्न आग्रह गर्दै बिक्री–वितरणसम्बन्धी सूचनाअनुसार आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न अनुरोध गरेको छ।

नेपाल आयल निगमको पछिल्लो सूचनाअनुसार काठमाडौंमा एलपी ग्यासको निर्धारित मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ रहेको छ।