बसकाे ठक्करबाट एक वृद्धकाे मृत्यु

अ+
अ
अ-

काभ्रेपलान्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका चारदोबाटो चोकस्थित शुभकामना हल अगाडि शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा.३ ख २०१४ नम्बरको बसले सोही दिशातर्फ गइरहेको बा.प्र.०२–०४२ प १५९९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा पछाडि सवार एक वृद्धको ज्यान गएको हो।

दुर्घटनामा पनौती नगरपालिका–८ मल्पी निवासी ६९ वर्षीय देबेन्द्रबहादुर खत्री गम्भीर घाइते भएका थिए। उनको दुवै हातमा चोट लाग्नुका साथै छातीमा आन्तरिक चोट लागेको थियो। घाइते खत्रीलाई तत्काल उपचारका लागि शिर मेमोरियल अस्पताल, बनेपा लगिएकोमा उपचारकै क्रममा दिउँसो १२:२२ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

स्कुटर चालक पनौती नगरपालिका–८ मल्पी निवासी ४१ वर्षीय सन्तोष खत्री भने सामान्य अवस्थामा रहेका छन्। दुर्घटनामा संलग्न बस चालक पनौती नगरपालिका–३ कुशादेवी निवासी करिब ४० वर्षीय सुरेश सापकोटालाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न बस र स्कुटर पनि प्रहरीले नियन्त्रणमा राखेको छ।

बसको ठक्करका कारण घटनास्थलमा पार्किङ गरी राखिएको बा.५१ प ३२० नम्बरको मोटरसाइकल तथा ‘ON TEST’ नम्बर प्लेट रहेको अर्को टीभीएस मोटरसाइकलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।