नक्कली सुन र बिल देखाएर ठगी गरेको आरोपमा काभ्रेमा एक जना पक्राउ

अ+
अ
अ-

काभ्रे । सक्कली सुन भन्दै नक्कली सुन र बिल देखाएर ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोक प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बनेपा नगरपालिका–११ सिनागालस्थित गौतम भिलेज रिसोर्टमा बेथानचोक गाउँपालिका–५ का ३२ वर्षीय अक्षय लामाले सक्कली सुन भन्दै नक्कली सुन तथा बिल दिएर ठगी गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो।

प्रहरीले लामाको शरीर तथा घरकोठामा खानतलासी गर्दा सुनजस्तो देखिने पहेँलो धातुका विभिन्न गरगहना, नक्कली नगदी बिल, मोबाइल फोन, विभिन्न बैंकका चेकबुक तथा नगदी भौचरलगायतका सामग्री बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार लामाबाट सुनजस्तो देखिने बाला, हार, सिक्री, ब्रासलेट र झुम्का तथा एक थान नक्कली नगदी बिल बरामद भएको छ। त्यस्तै, उनको घरकोठाबाट सिक्री, बेरुवा रिङ, नथी, नक्कली बिल, विभिन्न बैंकका चेकबुक तथा नगदी भौचरसमेत बरामद गरिएको छ।

पीडितको किटानी जाहेरीका आधारमा लामाविरुद्ध ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले बरामद सामग्रीको वास्तविक सुन वा नक्कली धातु भएको विषयमा परीक्षण तथा अनुसन्धान भइरहेको जनाएको छ।