काठमाडौ । काठमाडौ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेका अनुसार पछिल्लो समय मादक पदार्थ तथा लागुऔषध सेवन गरेर सवारी चलाउनेबाट बढी क्षति हुने गरेको छ। तीव्र गति र मादक पदार्थ सेवनका कारण हुने दुर्घटनामा गम्भीर मानवीय क्षति हुने गरेको उहाँकाे अनुभव छ।
“मादक पदार्थ वा लागुऔषध सेवन गरेर सवारी चलाउँदा निर्दोष सडक प्रयोगकर्ताको समेत ज्यान गुमाउनु परेको छ। यसलाई सामान्य रूपमा लिन नमिल्ने काफ्लेको बुझाइ छ।
उहाँ भन्नू हुन्छ,“दुर्घटना नहुँदासम्म गन्तव्यमा केही छिटो पुगिएला, तर दुर्घटना भएमा त्यसबाट हुने क्षति, उपचार, अंगभंग र परिवारले भोग्नुपर्ने समस्या अत्यन्त ठूलो र भयावह हुन्छ।
दुईपाङ्ग्रे सवारी साधनमा बढी दुर्घटनाको जोखिम देखिन्छ ।उपत्यकामा सञ्चालन हुने सवारी साधनमध्ये करिब ८२ प्रतिशत दुईपाङ्ग्रे सवारीसाधन रहेको काफ्लेले बताउनुभयो। गन्तव्यमा छिटो पुग्ने हतार र तीव्र गतिका कारण दुईपाङ्ग्रे सवारी बढी जोखिममा पर्ने गरेको उहाँको भनाइ छ।
ट्राफिक प्रहरीले गर्ने कारबाहीमध्ये करिब ७५ प्रतिशत दुईपाङ्ग्रे सवारीसँग सम्बन्धित रहेको उहाँले जानकारी दिनुभयो। पछिल्लो समय पठाओ, टुटल, याङ्गोजस्ता राइड सेयरिङ तथा व्यावसायिक प्रयोजनका दुईपाङ्ग्रे सवारीसमेत दुर्घटनामा पर्ने क्रम देखिएको भन्दै उहाँले सम्बन्धित चालक, सेवाप्रदायक कम्पनी र सरकारी निकायलाई थप सचेत हुन आग्रह गर्नु भएको छ।
एक ट्राफिक प्रहरीको तथ्यांकअनुसार एकजना ट्राफिकले १३ सय सवारीलाई नियमन गर्नु पर्छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा करिब १ हजार ६ सय ट्राफिक प्रहरी परिचालन हुने गरेको छ।
“सवारीको संख्या अत्यधिक छ, तर ट्राफिक प्रहरीको जनशक्ति सीमित छ। यस्तो अवस्थामा प्रविधिको प्रयोग र नागरिकको सहयोगबिना ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुन्छ,” काफ्लेले भन्नुभयो।
उहाँले सडक नियम पालना गर्नु ट्राफिक प्रहरीको डरका कारण नभई आफ्नै सुरक्षा र अरूको जीवन रक्षाका लागि आवश्यक रहेको बताउनुभयो। सडक नियमको पालना र जिम्मेवार सवारी संस्कार विकास गर्न सके दुर्घटना, जाम र मानवीय क्षति न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ।


