समाचार
`स्मृतिमा बिदुर सापकोटा’ पुस्तक सार्वजनिक

माघ २६ साेमबार, २०८२
काठमाडौं । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभा हलमा स्वर्गीय बामपन्थी नेता बिदुर सापकोटाको प्रथम पुण्यतिथिको अवसरमा ‘स्मृतिमा बिदुर सापकोटा’ पुस्तक विमोचन तथा विद्यार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बाम–लोकतान्त्रिक आन्दोलन र काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासमा सापकोटाले पुर्याउनुभएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। वक्ताहरूले सापकोटालाई इमानदार, संघर्षशील र जनमुखी नेताका रूपमा स्मरण गर्दै उहाँको विचार र योगदान नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको बताए।
बिदुर सापकोटा मेमोरियल फाउन्डेसनको सुरुवात पनि गरिएको थियो । कार्यक्रममा काभ्रे क्षेत्र नम्बर–२ का उम्मेदवार बसुन्धरा हुमागाईंको समेत सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक व्यक्तित्व, बुद्धिजीवी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
पुस्तक विमोचनसँगै विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको कार्यक्रममा सापकोटाको जीवन, संघर्ष र राजनीतिक यात्रालाई संस्थागत रूपमा अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

