समाचार

पुरस्कार समर्पण, पुस्तक तथा भजन सार्वजनिक गर्दै शब्दयात्रा प्रकाशनको भव्य कार्यक्रम सम्पन्न

२०८२ माघ १६ शुक्रबार
काठमाडौँ । शब्दयात्रा प्रकाशनद्वारा आयोजित पुरस्कार समर्पण, पुस्तक तथा देवीप्रार्थना भजन सार्वजनिक कार्यक्रम शुक्रबार दिउँसो १२:३० बजे भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम शब्दयात्रा प्रकाशनको नियमित सांस्कृतिक–साहित्यिक अभ्यासअनुसार केही फरक र मौलिक ढाँचामा सञ्चालन गरिएको थियो।

कार्यक्रमको प्रारम्भ वाणीकी देवी वागीश्वरी शारदाको प्रार्थनासहित गरिएको थियो। कार्यक्रम सञ्चालन सञ्चालक समितिका आमन्त्रित सदस्य अमृत अधिकारीले गर्नुभएको थियो। सहभागी महानुभावहरूको उपस्थिति अभिलेखीकरण तथा छायाङ्कन क्रमशः सङ्गीता केसी र मनोज अमात्यले गर्नुभएको थियो।

कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको अध्यक्षतामा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार समर्पण गरिएको थियो।

मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी, देउडा गायक नन्दकृष्ण जोशी, मधुमेह, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डा. दीपक मल्ल, नियात्राकार रमेशमोहन अधिकारी, साहित्यकार दिल पौडेल, योगाचार्य योगिनी सरितानन्दी, कृषि उद्यमी गोविन्द शर्मा, पत्रकार ज्ञानेन्द्रनाथ न्यौपाने, मटिहानी महोत्तरीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालय गुरुकुल तथा उर्लाबारी मोरङस्थित नमुना बालगृहलाई विभिन्न शीर्षकका शब्दयात्रा पुरस्कारहरू प्रदान गरियो।

कार्यक्रममा दिवङ्गत बद्रीविक्रम थापा, जीवनचन्द्र कोइराला, क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे तथा टोपकुमारी–तुलसीप्रसाद आचार्यप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

यसै अवसरमा गीता मञ्जुश्रीद्वारा सम्पादित ‘शब्दयात्रा प्रकाशनका चौध वर्ष’ शीर्षकको २६६औँ पुस्तक सार्वजनिक गरियो। साथै हरि मञ्जुश्रीको शब्द तथा संगीत, वसन्त कुइकेलको स्वर र मच्छेश्वर सापकोटाको सुपरिवेक्षणमा तयार देवीप्रार्थना भजन पनि सार्वजनिक गरिएको थियो।

कार्यक्रमको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा नारायणी–शङ्कर शिक्षा पुरस्कार कोषका तर्फबाट शिक्षासेवी शङ्करप्रसाद मानन्धरले शब्दयात्रा प्रकाशनलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ। सो रकम दीर्घकालीन पुरस्कार कोषका रूपमा सञ्चालन गर्ने सम्झौतामा आजै हस्ताक्षर गरिएको थियो।
कार्यक्रमको अन्त्यमा अतिथि शीतल गिरीले समीक्षा मन्तव्यसहित सभाविसर्जन गर्नुभएको थियो। समापन गान, सामूहिक नृत्य, तस्बिर खिच्ने कार्यक्रम तथा जलपानपछि औपचारिक कार्यक्रम समाप्त भएको थियाे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *