समाचार

दशैंमा बलिप्रथा र तान्त्रिक दर्शनबारे तन्त्र साधक उत्तम कुमार बज्राचार्यको धारणा

 

काठमाडौँ । नेपालमा हिन्दूहरूले मनाउने चाडबाड सुरु भएलगत्तै विभिन्न बहानामा यसको विरोध हुने गरेको छ। यस्तै दशैंको समय बलिप्रथामाथि पनि प्रायः गलत अर्थ लगाइँदै आएको पाइन्छ। यसलाई वास्तविक नेपाली संस्कृतिको विरोध नभई फरक धर्ममा आस्था राख्ने समूहहरूले सुनियोजित ढंगले हिन्दू धर्ममाथि प्रहार गर्ने प्रयास गरेको नेपालका वरिष्ठ तन्त्र साधक उत्तम कुमार बज्राचार्य बताउनुहुन्छ।

विद्वानहरूको व्याख्या अनुसार बलि शब्दको मूल अर्थ नै “खुवाउनु” भन्ने हो। यसलाई अंग्रेजीमा Metaversal भनेर पनि बुझिन्छ, जसको आशय दृश्य वा अदृश्य शक्ति तथा अर्को ब्रह्माण्ड (Universal) सँग सम्बन्धित हुन्छ। प्रकृतिमा रहेका विभिन्न प्राणीले फरक–फरक आहार ग्रहण गर्ने भएकाले जसलाई जे आवश्यक हुन्छ, त्यही उपलब्ध गराउनु नै बलि हो। त्यसैले बलि दिनु भनेको निस्वार्थ भावले कसैलाई केही उपलब्ध गराउनु वा खुवाउनु हो भन्ने उहाँको भनाइ छ।

बज्राचार्यका अनुसार बलि मान्छे वा पशु–पन्छीलाई मात्र सीमित नभई देवताअनुसार पनि फरक–फरक हुने प्रथा रहिआएको छ। उहाँले भन्नुभयो,“बाउन्न वटा मसान, बाउन्न वटा पीठ, बाउन्न वटा भैरव, बाउन्न वटा भैरवी, बाउन्न वटा वीर र बाउन्न वटा बेताल छन्। यी सबैलाई रगत–मासुको भोग चाहिने भएकाले दशैं वा विशेष तिथिमा बलि दिनुपर्छ। दशैंमा जसरी पूजा भए पनि अन्ततः सबै पूजा बाउन्न पीठकै हो, र यही पीठमा बलि दिने चलन रहिआएको हो।”

बलिको स्वरूप विविध हुन्छ। कतिपयले प्रतीकका रूपमा उखु, कुभिण्डो, अण्डा, मुला वा अदुवाको बोट बलि दिने चलन राखेका छन् भने कतिपयले हाँस, कुखुरा, बोका, भेडा वा राँगो बलि दिने परम्परा अझै जीवित छ। यी पीठ पूजामा पञ्च मकार (मास–मासु, मच्छे–माछा, मद्य–जाँड/रक्सी, मैथुन–सम्भोग, मुद्रा–योग) प्रयोग हुने उल्लेख गर्दै उहाँले यी सबैलाई उत्पत्तिको प्रतीक मानिएको तर्क प्रस्तुत गर्नुभयो।

विशेष गरी दशैंमा पञ्च मकार प्रयोग गर्नुको कारणबारे प्रश्न उठाउँदै बज्राचार्यले भने,“यसैमार्फत दृश्य र अदृश्य शक्ति प्राप्त गर्न सकिन्छ। यस्ता शक्तिबाट स्वास्थ्य, समृद्धि र आकर्षण प्राप्त हुने भएकाले हाम्रो संस्कृति अनुसार दशैं मनाइन्छ।”

Metaversal को व्याख्या गर्दै उहाँले थप्नुभयो,“Metaversal मूलतः पूर्वीय दर्शन हो। यसको अर्थ अर्को ब्रह्माण्डको शक्ति प्राप्त गर्नु हो। पश्चिमाहरूले यस अवधारणालाई बुझेर आजको व्यापार र प्रविधिमा उपयोग गरिरहेका छन्। फेसबुकका संस्थापक मार्क एलियट जकरबर्गले आफ्नो कम्पनीको नाम नै Meta राखेका छन्, जुन यसको प्रत्यक्ष उदाहरण हो।”

त्यस्तै, उहाँले Metaterial (जाति स्मरण) को अर्थ व्याख्या गर्दै भन्नुभयो,“Metaterial भनेको यहाँबाट विलिन भएर अर्को स्थानमा प्रकट हुनु हो। देवतास्थानमा दिइएको भोग तुरुन्तै अर्को स्थान वा रूपमा पुनर्जन्म भइसकेको हुन्छ, जुन देखिँदैन तर प्रकट भएको रूप मात्र देखिन्छ। यो नै अदृश्य शक्ति हो।”

अन्त्यमा उहाँले जोड दिनुभयो,“बलि हाम्रो मौलिकता हो। यसलाई विरोध गर्ने भन्दा पनि यसको वास्तविक दर्शन बुझेर अंगीकार गर्न सके सबैको हित हुन्छ।”

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *