टुकी न्युज विशेषपत्रपत्रिकाबाटप्रवासबिचार/ब्लगविश्वसमाचार
काभ्रेको समग्र समस्या र विकासका लागि सांसद भण्डारीले बुझाउनु भयो प्रधानमन्त्रीलाई विस्तृत प्रस्ताव

२०८३ बैशाख,१ मंगलबार
काठमाडौं । काभ्रेपलाञ्चोक प्रतिनिधिसभा सदस्य बदन कुमार भण्डारीले जिल्लाको समग्र विकास र आर्थिक रूपान्तरणका लागि प्रधानमन्त्रीसमक्ष विस्तृत प्रस्ताव पेश गर्नु भएको छ।
भण्डारीले काभ्रे प्राकृतिक स्रोत, कृषि सम्भावना तथा पर्यटनका हिसाबले महत्वपूर्ण जिल्ला भए पनि अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै पूर्वाधार, सेवा विस्तार र आर्थिक अवसरमा सुधार आवश्यक रहेको प्रस्तावमा उल्लेख गर्नु भएको छ।
उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाएको पत्रमा निम्न प्रमुख प्रस्तावहरू समेटिएका छन् ।
१.सुनकोशी–३ जलविद्युत आयोजना निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह
२.बागमती प्रदेशको राजधानी धुलिखेल सार्ने प्रस्ताव
३.अरनिको राजमार्ग स्तरोन्नति र चार लेन विस्तार
४.कृषि उत्पादनको बजार व्यवस्थापन तथा मल–बीउ समस्या समाधान
५.पाँचखालमा क्षेत्रीय स्तरको अस्पताल स्थापना
६.वन क्षेत्र व्यवस्थापन र काठको व्यवस्थित उपयोग
७.जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) समस्या समाधान
उहाँले सार्वजनिक यातायातमा महिला, बालबालिका तथा किशोरीमाथि हुने दुव्र्यवहार न्यूनीकरण गर्न GPS Tracking र CCTV जडानसहित ‘स्मार्ट बस’ सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ।
त्यस्तै, जिल्लामा बाँदर, बँदेलजस्ता जंगली जनावरका कारण कृषि उत्पादनमा परेको असर न्यूनीकरण गर्न प्रभावकारी सरकारी पहल आवश्यक रहेको उल्लेखित प्रस्तावमा समेटिएको छ। खानेपानी अभाव झेलिरहेका बनेपा, पनौती र धुलिखेल नगरपालिकामा एडीबी सहयोगमा सञ्चालित आयोजनाहरू प्रभावकारी बनाउन र समानुपातिक पानी वितरण सुनिश्चित गर्न आग्रह गरिएको छ।
साथै, बढ्दो शहरीकरणसँगै जटिल बन्दै गएको फोहोर व्यवस्थापन समस्या समाधानका लागि विशेष नीति ल्याउनुपर्ने , अवैध रूपमा सञ्चालनमा रहेका खानी तथा क्रसर उद्योगलाई कानुनी दायरामा ल्याउन, पुण्यमाता करिडोर निर्माण अघि बढाउन तथा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको निर्माण कार्य तीव्र बनाउन पनि जोड दिइएको छ।
