समाचार

विश्व सिग्देलकाे पेल स्याडाेज् एट डस्क बहुभाषिक कविता सङ्ग्रह लोकार्पण

काठमाडौं, साउन ३१
पुतलीसडकस्थित ग्रीन लिफ क्याफे शनिबार साँझ कविताको उत्सव बनेको थियो। कवि विश्व सिग्देलको नयाँ कविता संग्रह पेल स्याडाेज एट डस्क विमोचनका लागि वर्तमान कविता समूहले आयोजना गरेको कार्यक्रममा बहुभाषिक कविता वाचन, काव्य संवाद र विशिष्ट अतिथिहरूका मन्तव्यले माहोललाई साँच्चिकै साहित्यिक बनाइदियो।

समारोहका प्रमुख अतिथि डा. हेमराज काफ्ले र डा. बलराम अधिकारीसहित कवि सिग्देललाई कवि सञ्जय सुमनले खादा अर्पण गर्दै सम्मानपूर्वक आसन ग्रहण गराए। त्यसपछि प्रमुख अतिथिहरू र लेखकले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्दा सभाहल तालीले गुञ्जियो। कार्यक्रम कवयित्री रमी प्रियाको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो।

डा. हेमराज काफ्लेले आफ्‌नो मन्तव्यमा सिग्द्देलको लेखनशैलीलाई संवेदनशील र भावुक बताउँदै संग्रहले मानवीय भावनाका गहिरा तहलाई समेटेको धारणा राखे। उनले पुस्तकका कवितालाई “सुन्दर बान्‌की र काव्यिक सौन्द्रय” को उदाहरणका रूपमा प्रस्तुत गरे। डा. बलराम अधिकारीले भने कृतिको विषयगत गहिराइ, समकालीन नेपाली कवितामा यसको महत्व, र अनुवादमार्फत यसलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सकिने सम्भावनाबारे विचार प्रस्तुत गरे।

कार्यक्रमको विशेष आकर्षण भनेकै अंग्रेजी र जर्मन भाषामा कविता वाचन थियो। कवि रजनी मिला, हरिश अधिकारी, भीष्म उप्रेती र अभय श्रेष्ठले अंग्रेजी अनुवाद वाचन गर्दा श्रोता भावविभोर भए। त्यसैगरी निशान बेलबासे, साकृत सिग्देल, सेविका लिम्बु र प्रतीक्षा दाहालले जर्मन भाषामा प्रस्तुत गरेका कविताले सिग्देलको लेखनलाई अझ अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा उजागर गर्यो।

कवि सिग्देलले आफ्ना मन्तव्यमा उपस्थित सबैप्रति आभार व्यक्त गर्दै पेल स्याडोज एट डस्क आफ्‌नो “आत्ममन्थन र बाहिरी संसारको अवलोकन दुवैको यात्रा” भएको बताए। उनले अंग्रेजी अनुवादक स्ट्र्मी हजारिका र जर्मन अनुवादक स्खेन्पाप्रति विशेष धन्यवाद व्यक्त गरे।

कार्यक्रमको समापनमा धीर कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै यस्ता साहित्यिक भेला नेपाली कवि-साहित्यिक समुदायलाई अझ सशक्त बनाउन अपरिहार्य रहेको बताए। कार्यक्रमको उद्घोषण कवि चन्दबहादुर लामाले गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *