समाचार

लोमशमा ‘अर्थहीन बलिदान’ कथासङ्ग्रहको विशद परिचर्चा

– माधव घिमिरे ‘अटल’

साउन २०८२ साेमबार,२६

काठमाडौ ।लोमश वाङ्मय प्रतिष्ठानको मासिक कार्यक्रमको एघारौँ शृङ्खला हिजो गाईजात्राको दिन प्रारम्भ वर्ल्ड स्कुल तथा कलेजमा सम्पन्न भयो । लोमशका अन्य कार्यक्रमभन्दा केही भिन्न रूपमा कुनै विधा विशेष नराखिएको उक्त कार्यक्रममा महेन्द्र चालिसेकृत कथासङ्ग्रह ‘अर्थहीन बलिदान’को परिचर्चा गरियो ।

कृतिको परिचर्चा गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव तथा प्रखर प्रगतिवादी समालोचक डा. धनप्रसाद सुवेदीले कथाकृतिमा नयाँ पुराना सङ्क्षिप्त कथा समाविष्ट भएका र कथा एक बसाइँमै सकिने भए पनि तिनले वर्गीय समाजका अन्तरविरोध उधिन्न भने चुकेका बताए । जोकोहीले कृति लेख्दा चिप्लने यस्ता विषयमा महेन्द्र पनि अपवाद हुन नसकेको सुवेदीको कथन थियो । समाजको चरित्रको प्रतिविम्बन कतिपय कथामा देखिए पनि समाधानको मार्ग भने औंल्याउन नसकेको उनको भनाइ रह्यो । लेखकमा इमान त देखियो तर प्रकटीकरणमा केही सीमा रहे जसलाई आगामी दिनमा नसच्याई नहुने सुवेदीको तर्क थियो । यतिखेरको चुनौती भनेको साहित्य लेखन समाजको दर्पणका रूपमा देखिए पनि बदल्ने तौरतरिकाबारे रत्तिभर विमर्श नदेखिएकोमा सुवेदीले चिन्ता जाहेर गरे ।

प्रमुख अभ्यागत प्रा.डा.ऋषिराम शर्माले अनेक दृष्टान्त प्रस्तुत गर्दै प्रतीकात्मक ढङ्गबाट कथासङ्ग्रहको शीर्षक नै ज्यादै सान्दर्भिक भएको बताए । अधिकांश सर्जकका एकाध हरफ उद्धृत गरेका शर्माले थप साधनाको खाँचो औँल्याए । ठट्यौलो ढङ्गले उनले सिर्जना निखार्नु पर्ने धारणा अभिव्यक्त गरे । यस्ता कार्यक्रमले आफू राम्रो साहित्यकार भएर पनि भएँ/भइनँ भन्ने लागेकालाई ऊर्जा र आत्मविश्वास मिल्ने बताए । साहित्यकै सन्दर्भ पारेर वर्तमान राजनीतिक सङ्कट र संस्कारप्रति पनि शर्माले व्यङ्ग्य प्रहार गर्न भ्याए ।

विशिष्ट अभ्यागत तथा अनेसासका महासचिव राजु सिटौलाले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्नका निम्ति अनेसासले जस्तोसुकै त्याग गर्न पछि नपर्ने बताए । उनले लोमश वाङ्मय प्रतिष्ठान लगायतका सङ्घ,संस्थासँग मिलेर केकस्ता क्षेत्र र कार्यक्रममा सहकार्य गर्न सकिन्छ भन्नेबारे विमर्श गर्न आफू तम्तयार रहेको उद्घोष गरे । अनेसासका सदस्य नभएका साहित्यकारहरूले समेत अनेसासका गतिविधिमा पर्याप्त रूपमा सरिक हुन सक्ने भएकाले उपस्थित साहित्यकारहरूलाई सहभागिताका निम्ति उनले आह्वान गरे ।

‘अर्थहीन बलिदान’का कथाकार महेन्द्र चालिसेले खिइँदै गएको पठन संस्कृतिप्रति चिन्ता चाहेर गरे । उनले साहित्यकारहरू न हिजो लेखेरै बाँचे न आज बाँच्ने अवस्था छ भन्दै आफैँ लेख्यो, छाप्यो, बाँड्यो र खुसी मनायोको स्थितिमा आम लेखक गुज्रिरहेको दुखेसो व्यक्त गरे । थुप्रै विधाका पाण्डुलिपि तयार रहेका तर छाप्ने जाँगर पलाउन नसकेको उनको प्रस्टोक्ति थियो । आयोजक संस्थालाई धन्यवाद ज्ञापन गर्दै उनले ओझेलमा परेका स्रष्टालाई यसरी नै उजागर गर्न हौस्याए ।

कूटनीतिज्ञ तथा साहित्यकार रमेश खनालले कथाकारसँग बिताएको आफ्नो चुलबुले बाल्यकालको सम्झना गर्दै उपन्यासका कतिपय सीमाबीच कृति पठनीय र मननीय भएको भनाइ राखे । कृतिबारे डा. सुवेदीले बोलिसक्नुभएको हवाला दिँदै यसको सार सङ्क्षेप प्रस्तुत गरे ।

त्यसैगरी साहित्यकार तेज प्रकाश श्रेष्ठले चालिसे आफैँले मेरा कारणले कृति छापेको भन्नासाथ यस विषयमा आफूले प्रवेश गर्नै नपर्ने बताए । भिन्न विषयका अध्येता चालिसेले यत्तिको कथा लेख्न सक्नु विरासतको चुनौती पनि हुनसक्ने उनले लख काटे ।
मोडल, साहित्यकार तथा सञ्चारकर्मी सुष्मी कँडेल, कपन बानेश्वर साप्ताहिकका सम्पादक निबन्ध आचार्य, रचनाका सम्पादक प्रतीक घिमिरे, सञ्चारकर्मी जयराम बिडारी, शिक्षक अभियन्ता विश्वराज अर्याल, समाजसेवी तिलक पौडेल लगायतका मूर्धन्य व्यक्तित्वहरूको उपस्थिति रहेको सो कार्यक्रममा जगदीश्वर पोखरेल, रेणु अधिकारी ‘मौनता’, सत्या अधिकारी, ममिला पौडेल ‘आस्था’, कात्यायन, आलोक चालिसे, नवीन पल्लव, गोपालकृष्ण अधिकारी, च्यवन बस्नेत, रघुनाथ घिमिरे, रूबि सत्याल, श्यामकृष्ण डङ्गोल, जयराम बिडारी, लक्ष्मणदेव पाण्डे, सुष्मी कँडेल लगायत दुई दर्जन स्रष्टाहरूले आआफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’को अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सहजीकरण सचिव नवीन पल्लवले गरेका थिए भने उपस्थित साहित्यकार तथा साहित्यानुरागीहरूलाई प्रतिष्ठानका कोष सञ्चालक गोपालकृष्ण अधिकारीले स्वागत गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *