कविता : छयालीस किलाे सुटकेशमा देशकाे सपना

+
-

छयालीस किलो सुटकेशमा देशकाे सपना

एक बिहान काममा जादै गर्दा
युट्युबमा देशप्रेमीहरुको कविता सुन्दै
सोचें,
घर हुँदा देख्ने गरेको सपनाको सहरमा बसेर
घर जाने रहर कमाउँदै छु।

अचानक छाति बेस्सरी चस्कियाे, भक्कानियाे मन
झट्ट फोन गरे बाटाेबाटै श्रीमानलाई। ।
आँखाभरी ऑशु अनि भारी मन
र रुन्चे स्वरमा भने
फर्किउ आफ्नो देश र उतै केही गरौंला
मेराे प्रस्ताव थियो
म कलेज पढाउँछु , तिमी पनि उतै केही गर्नु

कयौं पटक घरको याद आइरहँदा
आमाको न्यानाे काख र माया सम्झिरहँदा
हरेका पाइलाकाे सफलतामा बाबाले दिने प्रेरणा
साथीसंगिकाे यादले भक्कानिदा
देश फर्किहालौं नभएको कहाँ हो र?

गर्न नखोजेको पनि हैन मातृभूमिमा उद्दम
तिसौं बसन्त देशमै बिताएँ ।
खै के पर्यो बिदेशको विकल्प मैले भेटीन
दुईवटा सुटकेसमा ४६ किलो देशकाे सपना बोकेर आएँ।

थामिन नसकेकाे मनलाई आफैले थुमथुमाएँ
अनि केही बेरमा मनमनै भने ,
डिग्री कमाउँन आउँदा लिएको बैंकको ऋण
बहिनीको विवाह ,भाईको कलेज
अनि ११ फाउन्टिनमा बनेको घरको ठाउँमा एउटा
सानो नँया घर ।
त्यसपछि त आफुले सिकेको सिप र तालिम लिएर पक्कै जानेछु
मेरै देश,आफ्नो घर।

यतिकैमा बुबाको फोन आउँ
काइँला बालाई  सार्है ठुलो रोग लाग्यो रे नानी
दिल्ली  लगेका छन उपचार गर्ने सकेको
सहयोग गर है ?

बा भन्नू हुन्छ
आफन्तमा विदेश बसेकी तै होस्,
दुखमा सबैकाे आश तँ प्रती छ।
अनि बस् यस्तै  बहानाहरुले
कोपिला मात्र बनेको मेरो सपना
देश फर्कने,टिचर बन्ने योजना
पून केही वर्षलाई रोकिन्छ।

म परदेशी पक्कै चाँडै सपना देख्ने छु
र ,जाने छु भाइ ,बहिनीलाई भोगाई पढाउन्
मैले भोगकाे  जिबन सिकाउन।

भन्नेछु खराबी केही छैन विदेश जानुमा
हेर, पढ,सिक र फर्किऊ आफ्नै घर
आफ्नै ठाँउमा।
यी झिलीमिली सहरकाे सुविधा भन्दा
प्यारो हुन्छ परिवार, बुबा -आमा र देश ।

सन्तोषी नेपाल
२०२४- अम्रिकन हाईवे