बाढीपहिरोमा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै विश्व शान्ति पूजा

+
-

भोटेकोसीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ज्यान गुमाएका मृतकहरूको चिरशान्तिको कामना गर्दै काठमाडौंस्थित बौद्ध स्तूपा परिसरमा विश्व शान्ति पूजा गरिएको छ।

बाढी तथा अन्य प्राकृतिक विपद्मा ज्यान गुमाएकाहरूको शान्ति र पितृमोक्षको कामनासहित पूर्ण तिथिका अवसरमा एक्काइस दिनपछि विशेष पूजा आयोजना गरिएको हो।

बौद्धनाथ क्षेत्र विकास समिति, मेलम्ची घ्याङ गुठी व्यवस्थापन समिति तथा अन्य संस्थाहरूको सहयोगमा आयोजित पूजामा विश्व शान्ति धाम लुम्बिनीका प्रमुख गुरु क्याम्छे शाल्पा रिन छोपेसहित हिन्दू परम्पराका गुरुहरूको समेत संयुक्त उपस्थिति रहेको थियो।

मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै बौद्ध तथा हिन्दू परम्पराअनुसार मन्त्रजप, प्रार्थना र दीप प्रज्वलन गरिएको आयोजकले जनाएको छ।

बिहान ७ बजेबाट सुरु भएको पूजा करिब १० बजेसम्म सञ्चालन भएको थियो। पूजाका क्रममा प्राकृतिक विपद्मा परेका हरेक जीवप्रति मानवता र करुणाको हात बढाउने तथा जीव कल्याणका लागि सामूहिक रूपमा अघि बढ्ने संकल्पसमेत गरिएको थियो।

प्राकृतिक विपत्तिका कारण नेपालमा ठूलो मानवीय क्षति भएको, कतिपय परिवारले आफ्ना प्रियजन गुमाएको र धेरै मानिस घाइते भएको अवस्थामा अझै पनि अनगिन्ती नागरिक पीडा र अनिश्चितताको अवस्थामा रहेको आयोजकको भनाइ छ।

यस्तो अवस्थामा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै विपद्मा परेकाहरूको पीडा र दुःखप्रति ऐक्यबद्धता जनाउँदै शान्ति, करुणा र मानवीय संवेदनाको सन्देश प्रवाह गर्न विश्व शान्ति पूजा आयोजना गरिएको जनाइएको छ।