दुग्ध किसानले प्रजिअ मार्फत बुझाए मन्त्रालयलाई ज्ञापनपत्र,माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

+
-

फाल्गुन १४ साेमबार
काभ्रेपलान्चोक । जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापन पत्र बुझाएको छ। आज जिल्ला प्रशासन कार्यालय अगाडि विराेध सभा गरि  ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको हो ।

संस्थाले विगत २ देखि ४ महिनासम्म  किसानले दूध विक्रि गरेकाे पैसा किसानले भुक्तानी नपाएपछि कृषक मर्कामा परेको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत कृषि तथा पशुपन्छि मन्त्रालयलाई ध्यानाकर्षण गराइएको छ।

दुग्ध उत्पादक सहकारी संस्था काभ्रेका अध्यक्ष नारायण प्रसाद बडालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ,” दुध विक्रि बापतकाे भुक्तानी नपाउदा पशुलाई चाहिने आहार पराल चाेकर ढुटाे लगायत बैक वित्तिय संस्थाकाे साँवा तथा व्याज पनि बुझाउन कठिन भएको अबगत गराउन चाहान्छौ। “

केन्द्रीय दुग्ध सहकारी संघ र जिल्ला दुग्ध सहकारी संघ बीच कृषि तथा पशुपन्छि विकास मन्त्रालयका मन्त्री , सचिव ,सहसचिव ,राष्ट्रिय दुग्ध विकास संस्थानका अध्यक्ष  , डेरी उद्याेग संघ , डेरी उत्पाद संघका अध्यक्षहरु लगायतको नेतृत्वमा पुस मसान्तसम्म राेकिएकाे भुक्तानी रकम उपलब्ध गराउने सहमति भएको थियो । हालसम्म पनि सराेकारवाला पक्षले चासाे नदिएको र किसानले उक्त भुक्तानी नपाएकोले प्रमुख जिल्ला अधिकारी मार्फत सम्वन्धित निकाएकाे ध्यानाकर्षण गराउन चाहान्छौ ,ज्ञापनपत्रमा उल्लेख गरिएको छ। 

दुग्ध विकास बाेर्ड र डेरि उद्याेगलाई विक्रि गरिएको उत्पादनकाे करिब ५० कराेड रुपैयाँ समयमा उपलब्ध नगराइए चरणबद्द आन्दोलन गरिने बताइएको छ।

आज फाल्गुन १४ गते प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गराइएको छ भने फाल्गुन १७ गते काभ्रेको बनेपामा २ घण्टा  शान्तिपूर्ण चक्काजाम गरिने छ। साथै माग पूरा नभए फाल्गुन २१ गते काठमाडौकाे माइतीघर मण्डलामा  देशभरका किसानकाे अगुवाइमा विराेध , धर्ना तथा आन्दोलन गरिने ज्ञापनपत्रमा मार्फत जानकारी  गरिएको छ।