समाचार
फाल्गुन ४ गतेदेखि काभ्रेमा बृहत् कृषि महाेत्सव हुने

माघ२३ मंगलबार ,२०८०
काभ्रेपलान्चोक । काभ्रे जिल्ला विभिन्न क्षेत्रमा सम्भावना बाेकेकाे जिल्ला हो । काभ्रे कृषि ,पर्यटन र शिक्षा र स्वास्थ हव बन्दै गएकाे राजधानी पछिकाे ठुलाे उपत्यकाकाे रुपमा विकास हुदै गएको छ। यहाँ काठमाडौ विश्वविद्यालयले शिक्षाको महत्त्वकाे विषयमा आफ्नो भूमिका निर्वाह गरिरहेकाे छ भने नेपालकै नमुना सामुदायिक अस्पतालले स्वास्थकाे क्षेत्रमा सेवा गरिरहेकाे छ, साथै सदरमुकाम धुलिखेल पर्यटनको हव हो र काभ्रेका कृषि उत्पादनले राजधानीकाे आधा माग पुर्ति गरेकाे तथ्यांकहरुले देखाएको छ।
यस्तै अबसरमा कृषिमा आत्मानिर्भर भनेर चिनिएको जिल्ला काभ्रेमा ” बृहत काभ्रे कृषि महाेत्सव” हुने भएको छ। जिल्ला समन्वय समिति काभ्रेको संयाेजनमा कृषि महाेत्सव हुन लागेको मुल आयाेजक समाराेह समिति (कृषि ज्ञान केन्द्र )सचिवालयले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।
महाेत्सव जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमकाे संयाेजकत्वमा ४५ सदस्यीय मुल आयाेजक समिति तयार गरिएको छ। मेला- महाेत्सव आगामी फाल्गुन ४ गतेदेखि ७ गतेसम्म चल्ने बताइएको छ। बनेपा नगरपालिकाको करुणा मार्ग (तीन दाेवाटाेबाट प्रधिकरण चाेकसम्म) लाई महाेत्सव स्थल ताेकिएकाे छ। उक्त स्थानमा विभिन्न स्टलहरु राखिने र लायकु राज भवनमा उदघाटन सत्र र समापन कार्यक्रम राखिने आयाेजकले जानकारी दिएको छ।

जिल्ला समन्वय समितिका प्रमुख तथा बृहत काभ्रे कृषि महाेत्सवका संयाेजक दिपक कुमार गौतमले जिल्लामा कृषि कर्म गरिरहेका किसानलाई कृषिमा भविष्य छ भन्ने विश्वास दिलाउन महाेत्सवले सहयोग गर्ने बताउनु भएको छ। उहाँले भन्नुभयो , “विदेशमा रहेका युवालाई कृृषिमा आकर्षण गर्न यस्तो मेला महाेत्सव काेशेढुङ्गा सावित हुनेछ। साथै कृषिलाई व्यवसायिक र मर्यादित पेसा हो भन्ने बनाउन हामिले सानो प्रयास गरेका हौ । यसले किसान र कृषिसँग सम्बन्धित सराेकारवाला सबैलाई जाेडने छ। ” यो महाेत्सवले जिल्लाका विभिन्न भूगाेलमा कृषि कर्म गरिरहेका किसानलाई आय- आर्जनको निम्ति जाेडिन समन्वयकारी भुमिका खेल्ने प्रमुख गौतमले विश्वास व्यक्त गर्नु भएको छ।
कृषिजन्य र पशुजन्य उत्पादनलाई बजार व्यबस्थापिकरण गर्ने उदेश्य राखेर गरिने महाेत्सवमा कृषकलाई अाबाश्यक पर्ने उपकरण ,अौजार पनि प्रदर्शनिमा राखिने छ। कृषकलाई प्राेत्साहन गर्न कृषिसँग सम्बद्ध काम गर्ने सरकारी ,गैरसरकारी संघ संस्था , विक्रेता , वित्तीय संस्था , जिल्लाका १३ वटै पालिका लगायत सराेकारवाला सबैले महाेत्सवमा सहभागीता जनाउने छन् ।
महाेत्सव सफल बनाउन सबै सराेकारवाला पक्षसंँग छलफल र अन्तरक्रिया गरिसकिएको छ। कार्यक्रमलाई सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले उदघाटन गर्नु हुने कार्यक्रममा ६० हजार दर्शकले प्रदर्शनि अबलोकन गर्ने आयाेजककाे आँकलन रहेको छ। साँकृतिक कार्यक्रमले महाेत्सवलाई थप आकर्षक बनाउने र स्वदेशि तथा विदेशी पाहुनालाई विशेष स्वागत गरिने छ।
सम्पुर्ण खर्च व्यवस्थापन उद्याेग बाणिज्य संघ काभ्रेले गर्ने महाेत्सवकाे कुल खर्च १ कराेड १५ लाख अनुमान गरिएको छ। प्रदर्शनी स्थलमा प्लेटिनम, डायमण्ड, गाेल्डेन, सिल्भर स्टलहरु रहने छन् । महाेत्सवकाे अन्तिम दिन उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नुका साथै सम्मान गरिने आयाेजकले बताएको छ।


