भूमिकला पौडेल ,१८ पुष २०७९
काठमाडौं ।“अपाङ्गता भएका महिलाहरू पनि रोजगारी तथा स्वरोजगारी मार्फत आत्मनिर्भर हुन सक्छन् । त्यसैले उनीहरूलाई केवल अवसरको खाँचो छ” तथा “आर्थिक सशक्तिकरण नभएसम्म अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँच पुग्न सक्दैन । त्यसैले अपाङ्गता भएका महिलाहरूलाई आर्थिक रूपमा नै आत्मनिर्भर बनाउँनु पर्ने हुन्छ ।” भन्ने संदेश झल्काउने एक उत्प्रेरणात्मक वृतचित्र आज राजधानीमा सार्वजनिक गरिएको छ ।
नेत्रहीन महिला संघ, नेपालले निर्माण गरेको सो वृतचित्र डिसेबिलिटी मिडिया सेन्टरको पोष्ट प्रोडक्सन तथा अपाङ्गता भएकी महिला भूमिकला पौडेलको कथा लेखन तथा न्यारेसनमा तयार भएको हो । वृतचित्रले अपाङ्गता भएका महिलाहरूले रोजगारी तथा स्वरोजगारीमा आफूलाई अगाडि बढाउन सक्छन् र अन्याय हुँदा न्यायको लागि लड्न पनि आर्थिक स्वाबलम्वन नै जरूरी हुन्छ भन्ने विषयलाई विशेष जोड दिएको थियो ।
वृतचित्र सार्वजनिक गर्दै नेत्रहीन महिला संघ, नेपालले “अपाङ्गता भएका महिलाहरूको रोजगारी तथा स्वरोजगारी प्रवद्र्धनका लागि अन्तरक्रिया” समेत आयोजना ग¥यो । अपाङ्गता भएका महिलाहरूलाई रोजगार तथा स्वरोजगारका लागि के कस्ता अवसर तथा संभावनाहरू रहेका छन् भन्ने विषयमा सम्बन्धित रोजगारदाता निकायहरूलाई ध्यानाकर्षण गर्ने उद्धेश्यले सो अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
अन्तरक्रियामा सहभागी सरकारी, निजी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था लगायतका प्रतिनिधीहरूले अपाङ्गता भएका महिलाहरूलाई कसरी रोजगारी तथा स्वरोजगारीमा अगाडि वढाउन सकिन्छ र सो का लागि तालिम समेत आवश्यक भएको हुँदा यस सवाललाई अबका दिनमा आ–आफ्नो तर्फबाट के कसरी काम गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै सो का लागि प्रतिवद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न रोजगारदाता, अपाङ्गता भएका महिला तथा विभिन्न क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरू लगायत ६१ जनाको सहभागिता रहेको थियो ।


