समाचार
जनताको भावनालाई कदर गर्ने उमेद्वार लम्सालको प्रतिबद्धता

बनेपा,
नेकपा एकीकृत समाजवादी काभ्रे प्रतिनिधिसभा २ प्रदेशसभा १का उम्मेदवार लक्ष्मण लम्सालले जनताको भावना र विचारलाई बुझेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आज बनेपामा संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनपश्चात आगामी पाँच वर्षमा कसैलाई काखा कसैलाई पाखा नगरी समानरुपले विकास निर्माणको काममा सहयोग गर्ने बताउनुभएको हो ।
केन्द्रीय राजनीतिमा पाँच दलको गठबन्धनले मिलेर जसरी राजनैतिक निकास खोजिरहेको छ त्यसैगरी जिल्लामा बाम लोकतान्त्रिक गठबन्धनले विकासको निकास खोज्ने उहाँको भनाई थियो।
चुनावी प्रतिबद्धता व्यक्तगर्दै उहाँले भन्नुभयो “म विकास निर्माणका पूर्वाधार, समानता र न्यायको पक्षमा यो दल त्यो दल नभनी स्वतन्त्र भएर जनताको सेवा गर्ने छु। मैले पहिला पनि आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणको काममा सकेसम्म पहलकदमी लिएको छु। त्यो मेरो जिम्मेवारी पनि हो र आगामी दिनमा गठबंधनको साझा प्रतिनिधि भएपछि पनि म आफ्नो जिम्मेवारी बाट चुक्ने छैन।”
अब छिटै नै पार्टीको तर्फबाट र गठबन्धनको तर्फबाट छिट्टै नै भावी योजना सहितको घोषणापत्र सार्वजनिक हुने पनि बताउनुभयो ।उहाँले भन्नुभयो :-घोषणापत्रमा धेरै कुराहरु समाबेश भएर आउनेछन । त्यहाँ तात्कालीन र दीर्घकालीन योजनाहरु हुनेछन्। त्यसमा उल्लेख भएका कामहरू हामी पुरा गरेर छोड्ने छौ।


