समाचार

अस्पतालको उपचार खर्च नतिरिकन बलात्कार आरोपी सिद्धबाबालाई डिस्चार्ज , चतरा पुगे पनि यस अघि बहिस्कारको घोषणा गर्नेहरु किन मौन ?

माेरङ / प्रहरी हिरासत छल्न अस्पताल भर्ना भएका बलात्कार आरोपी सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीलाई आइतबार उनी उपचाररत विराटनगरको विराट नर्सिङ होमले डिस्चार्ज दिएको छ । बलात्कार आरोपको अनुसन्धान अवधिभर उपचारका लागि भन्दै अस्पतालमा बसेका उनलाई ३८ दिनपछि डिस्चार्ज दिइएको हो । मंसिर १२ गते देखि अस्पतालको सुविधा सम्पन्न डिलक्स रुममा बसेका उनलाई गत सोमबार जिल्ला अदालत सुनसरीले तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । आदेशपछि पनि पुनः नर्सिङ होममै भर्ना भएका उनलाई त्यसको एक सातापछि अस्पतालले डिस्चार्ज दिएको हो । सुनसरीको चतरा धामस्थित आफ्नो आश्रममै मध्यरातमा बोलाएर कात्तिक पहिलो साता बलात्कार गरेको भन्दै एक महिला अनुयायीले उजुरी दिएपछि प्रहरीले उनी विरुद्ध जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो । उजुरी दर्ता भएपछि उनी अस्पताल भर्ना भएका थिए । मंसिर १६ गते आईसीयूबाटै पक्राउ गरेर उनी विरुद्ध अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको थियो । चार पटकसम्म म्याद थप गरिए पनि उनले प्रहरी हिरासतमा बस्न परेन । अस्पतालको बेडबाटै उनीसँग बयान लिइएको थियो ।

उनलाई अस्पतालका बरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरीले ‘माइनर हटअट्याक’ भएको बताउँदै उपचार सुरु गरेका थिए । स्वास्थ्य अवस्था सामान्य बनेको भन्दै गिरीले नै उनलाई डिस्चार्ज दिएका हुन् । उपचार वापतको खर्च नतिरिकन उनलाई डिस्चार्ज दिइएको छ । उनको उपचार र औषधिमा कति रुपैयाँ खर्च भयो भन्ने हिसाब सार्वजनिक गर्न अस्पतालले पनि मानेन् ।

उपचारमा कति खर्च भयो भन्ने विवरण प्राप्त नभएका कारण उपचार वापत लागेको पैसा लिन बाँकी रहेको अस्पतालका लेखापाल सुवास पोखरेलले बताए । पूर्ण विवरण प्राप्त भएपछि सबै कृष्णबहादुरसँग सबै पैसा लिइने उनको भनाइ छ ।

अस्पतालबाट डिस्चार्ज भएपछि कृष्णबहादुर सिधै चतरास्थित आफ्नो आश्रममा पुगेका छन् । बलात्कारको आरोप लागेपछि चतराका अगुवा महिला एवं स्थानीय बासिन्दाले कृष्णबहादुरलाई बहिस्कारको घोषणा गरे पनि उनी कृष्णबहादुर आश्रममा पुग्दासम्म समेत उनीहरु मौन छन् । यस अघि विरोधमा रहेकाहरु अहिले मौन रहनुलाई कृष्णबहादुरकै समर्थन गरिएको रुपमा लिइएको छ । स्थानीय अगुवा महिला र त्यहाँका बासिन्दाले चतरा प्रवेश नै गर्न नदिने घोषणा गरेका थिए ।

चतरामा उठिरहेको विरोधको आवाज साम्य पार्न भन्दै उनी अस्पतालबाटै एक रात त्यहाँ पुगेको खुलेको छ । उपचारकै क्रममा शुक्रबारराति उनी आफ्ना समर्थक र अनुयायीसहित त्यहाँ पुगेको स्रोतले बतायो । चतरा जान १० बजे राति निजी गाडीमा अस्पतालबाट बाहिरिएका उनी शनिबार बिहानै उपचाररत अस्पतालको बेडमा आइपुगेका थिए । उनी चतरा पुगेर विरोधमा रहेकाहरुलाई साम्य पारेर फर्किएको उनी निकट स्रोतले बतायो ।

स्रोतकाअनुसार चतरामा बहिस्कारको घोषणा गरेर आन्दोलन र विरोधमा रहेकाहरुले उनी अस्पतालबाट डिस्चार्ज भएर चतरास्थित आश्रममा पुग्दा पनि कुनै प्रतिक्रिया नदिनु र विरोध नगर्नुले यसको पुष्टि गर्छ । अस्पतालले उपचारका क्रममा उनी बाहिरिएको कुरा आफ्नो रेकर्डमा भने राखेको छैन । अस्पतालकै मिलेमतोमा उनी रातको समय पारेर बाहिरिएको अस्पतालका एक कर्मचारीले बताए । अस्पतालमा हुने उच्च निगरानीका कारण उपचाररत बिरामी त्यहाँबाट बाहिर निस्कन पाउँदैनन् ।

कृष्णबहादुरका नजिकका अनुयायी एवं विश्वासपात्र मानिएका बुद्ध शाक्यले यस विषयमा आफूलाई कुनै पनि कुरा थाहा नभएको बताए । उनले यस विषयमा कुरा गर्नका लागि उनका अरु नजिककासँग सम्पर्क पनि गराउन मानेनन् । आफू काठमाडौंमा रहेको भन्दै उनले कुरा टार्ने प्रयास गरे । सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले सिद्धबाबा चतरा पुगेको जानकारी आएको बताउँदै त्यहाँ कसैको समर्थन र विरोधमा आन्दोलन नभएको बताए । कृष्णबहादुर प्रहरीलाई खवर नगरिकन त्यहाँ पुगे पनि कुनै लफडा भएको जानकारी भने नआएको उनको भनाइ छ ।

आफूलाई जगतगुरु बताउँदै आएका कृष्णबहादुरले ६ महिना अघि भारतबाट त्रिदण्ड धारण गरेका हुन् । हिन्दू धर्म संस्कारअनुसार त्रिदण्ड धारण गर्नेहरुले स्त्री, आगो र पैसाबाट टाढै बस्नु पर्ने हुन्छ ।

जवरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले दिएको आदेश विरुद्ध उच्च अदालत विराटनगरमा निवेदन परेको छ । निवेदन उपर सुनुवाई गर्दै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले १५ दिन भित्रमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिइसकेको छ । सरकारी वकिल कार्यालयले थुनामा राख्न पर्याप्त प्रमाण हुँदाहुँदै कृष्णबहादुर धरौटीमा छाड्ने आदेश भएको भन्दै उक्त आदेश बदर गरी उनलाई थुनामा राखेर पुर्पक्ष गर्न माग गर्दै बिहीबार उच्चमा निवेदन दिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *