
२०८३ जेठ ४, सोमबार
काभ्रेपलाञ्चोक । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले नेपाली कांग्रेस राष्ट्रिय एकताको पक्षमा उभिएको पार्टी भएको बताउनुभएको छ।
आज धुलिखेलमा आयोजित बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले भूगोलका हिसाबले पूर्वदेखि पश्चिमसम्मका नेपालीलाई जोड्ने काम कांग्रेसले गरेको धारणा राख्नुभयो।
उहाँले भन्नुभयो, “कांग्रेस ठूलो पार्टी हो। यसमा उचाइ, गहिराइ र विविध विचार समेट्ने क्षमता छ। यहाँ सबै शुभेच्छुक र समर्थक अटाउन सक्छन्। ‘यो’ वा ‘त्यो’ भन्ने सीमित सोचभन्दा माथि उठेर अबको कांग्रेस अगाडि बढ्छ।”
सभापति थापाले केन्द्रीय तहका नेताहरूले गरेका गल्तीका कारण स्थानीय तहका कार्यकर्ताले गाली खानुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो।
उहाँले पार्टीभित्र गल्ती गर्ने जो–कोहीलाई कारबाही गरिने स्पष्ट पार्दै भन्नुभयो, “अब आफ्नो र अर्काको भनेर छुट दिने अवस्था हुँदैन। गलत पात्र र प्रवृत्तिलाई कारबाही हुन्छ।”
कार्यक्रममा सहभागी कार्यकर्ताप्रति आभार व्यक्त गर्दै थापाले “चिया पसलमा बसेर कांग्रेसले किन गाली खाने ?” भन्दै नेतृत्व र कार्यशैली सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो।

