समाचार
शंकास्पद संस्थाको कार्यक्रममा प्रचण्ड, गगनदेखि राजदूत पुरीको सहभागिता

काठमाडौं, १३ साउन । ‘नेपाल–भारत थिङ्क ट्यांक सम्मेलन २०१८’का नाममा नामै नसुनिएको एउटा संस्थाले पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्न लागेको खुलासा भएको छ ।
एसियन इन्ष्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेशल अफेयर्स (एआइडीआइए) नाम संस्थाले कार्यक्रम गर्न लागेको हो । यो संस्थाका प्रमुख सुनिल शर्मा हुन् । संस्थाका सीइओ तथा फाउण्डर केसीका गतिविधिहरू शंकास्पद र विवादित रहेको भन्दै बेलाबेला समाचार समेत आउने गरेका छन् । केसीको विशेष गरेर भारतीय गुप्तचर संस्था ‘रअ’ र लैनचौरसँग निकटता रहेको आरोप पनि लाग्ने गरेको छ ।
केसीले नेपालको राजनीतिमा भारतीय हस्तक्षेप बढाएर आफूले चाहेको गतिविधि गर्न सक्ने भन्दै आफू निकटकालाई बताउने गरेको आरोप पनि छ ।
‘एआइडीआइए’ नामक यो संस्थाको हैसियतलाई लिएर पनि प्रश्न उब्जिएको छ । काठमाडौंको होटेल याक एण्ड यतिमा ३१ जुलाई अर्थात साउन १५ गते मंगलबार हुने कार्यक्रम आयोजना गर्न लागेको संस्थाका बारेमा प्रचण्डसहितका नाम चलेका राजनीतिज्ञहरू भारतको नाम लिनेवित्तिकै जाने कार्यको विरोध भएको छ ।
‘एआइडीआइए’ नामक संस्थाका प्रमुख केसीले वेवसाइटमा कार्यक्रममा सहभागी हुने नेताहरूको नाम र तस्बीर मानमर्दन हुने गरेर वरीयता नमिलाइ राखेका छन् । उनको यो सम्मेलनमा कसले खर्च दिएको हो भनेर स्पष्ट खुलाइएको छैन । स्रोतका अनुसार यो कार्यक्रम गर्नका लागि लैनचारस्थित भारतीय राजदूतावासले लाखौँ रुपियाँ दिएको छ । सोही रकममा केसीले कार्यक्रम गर्न लागेका हुन् ।
नाकाबन्दीपछि नेपालमा बढ्दै गएको भारतविरोधी भावनालाई मत्थर बनाउन ‘रअ’कै डिजाइनमा यो कार्यक्रम हुन लागेको उच्च स्रोतको भनाइ छ । नेपालका लागि भारतीय राजदूत पुरी स्वयं कार्यक्रममा सहभागी भएर प्रचण्ड, गगनसहिताका नेताहरूसँग एउटै मञ्चमा बसेर भारतको पक्षमा माहोल बनाउने तयारी गरेका हुन् ।
केसीले सम्मेलनमा प्रचण्डका साथै नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरी, भारतीय जनता पार्टीका महासचिव राम माधव, नेकपाका नेता एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली कांग्रेसका नेता गगन थापा, पूर्वमन्त्री गणेश साह, नेकपाका नेता राजन भट्टराई, निर्मलमणि अधिकारी, शम्भुराम सिंखडा, रविन्द्रनाथ भट्टराई, सुजिभ शाक्य, निशा तानिजा, डा.विष्णुदेव पन्त, केशरबहादुर भण्डारी, विनोज बस्नेत, पत्रकार कोशराज कोइराला, पत्रकार सम थापा, लेखक गेजा शर्मा वाग्ले, निर्भान चौधरी, पत्रकार अनिल गिरी, डा.मिर्गेन्द्रबहादुर कार्की, डा.खड्ग कार्की, कुबेर चालिसेलगायतले कार्यक्रममा सहभागिता जनाउनेछन् ।
