समाचार

उडिरहेको हेलिकोप्टरबाट सामान खस्यो

सोलुखुम्बु, २२ भदौ  – फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकोप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको स्थानीयवासीले बताएका छन् ।फालु विमानस्थलबाट स्याङ्बोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सिरकलगायतका सामग्री झरेको उनीहरुको भनाइ छ । हेलिकोप्टरबाट सामग्री झरेको भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय समेतको ध्यानाकर्षण गराएका छन् । कार्गो उडान कम्पनीको लापरवाहीका कारण सामग्री झरेको उनीहरुको आरोप छ ।

प्रमुख निल्ला अधिकारी बेदनिधि खनालले कम्पनीले सामग्री ढुवानी गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो । स्थानीयवासीले फोन गरेर उडिरहेको हेलिकोप्टरबाट सामग्री खसेको जानकारी दिएको प्रजिअ खनालले बताउनुभयो ।कम्पनीको सानो कमजोरीले ठूलो दुर्घटना हुने प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाको भनाइ छ । सामान ढुवानी गर्दा सुरक्षालाई विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

कैलाश एयरका कर्मचारी बिलक श्रेष्ठले भने अञ्जानमा गल्ती भएकाले त्यसलाई सुधार्ने बताउनुभयो ।नियोजित नभई ध्यान दिँदादिँदै सिरकको पोको झरेकाले आउँदा दिनमा सुधार्ने उहाँको प्रतिबद्धता छ । उक्त हेलिकोप्टर क्याप्टेन आशिष शेरचनले उडाउनुभएको थियो । विगतका दिनमा समेत सामान झर्ने गरेको बताइएको छ ।(रासस)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *