काठमाडौं : रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने भएको छ । मन्दिर पुनर्निर्माणको कामसमेत सुरु भएको छ। यसका लागि मूल मन्दिर वरिपरि यसअघि राखिएको क्रंकिटको टाइबिम फुटाएर फलामे रड निकाल्न थालिएको छ ।
मन्दिर परिसरमा चुनासुर्की प्रयोग गरेर मूल मन्दिर वरिपरिको प्यासेज पुनर्निर्माण थालिएको हो । त्यसका लागि रानीपोखरीको उत्तरी ढोकानिर सुर्की निर्माणको काम भइरहेको छ भने मन्दिर नजिकै चुना भिजाइएको छ । चुना र सुर्की मिलाएर त्यसकै मसलाले पर्खाल लगाइएको छ ।
मन्दिर पुनर्निर्माणका लागि २४ असारमा ठेक्का सम्झौता भएको थियो भने निर्माण कम्पनी सीए÷तुलसी कन्ट्रक्सन जेभीले मन्दिर पुनर्निर्माणको काम थालेको हो । सो कम्पनीको साइट इन्जिनियर सनम श्रेष्ठले हाल दैनिक ३० देखि ३५ श्रमिकले काम गरिरहेको जानकारी दिए । उनले क्षमापूजा गरेपछि मुख्य मन्दिरको पुनर्निर्माण गरिने बताएका छन् । कामलाई गति दिन मूल मन्दिर र पुलको काम समानान्तर रूपमा अघि बढाइने पनि उनले जनाए ।
रानीपोखरी पुनर्निर्माणको अनुगमन कार्यको नेतृत्व गरिरहेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्माले हालसम्मको कार्य सन्तोषजनक ढंगले अघि बढेको बताएका छन् ।
निर्माण कम्पनीले बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माण गर्नेछ भने उपभोक्ता समितिले पोखरीको पिँध र वरिपरिको पर्खाल पुनर्निर्माणको जिम्मेवारी पाएको छ । उपभोक्ता समितिले पोखरीको पश्चिमपट्टिको पर्खाल लगाइसकेको छ भने दक्षिण र उत्तरको एक तिहाइ भागमा पर्खाल लगाउनेक्रम जारी छ ।
पर्खाल लगाउँदा पनि परम्परागत सामग्री र प्रविधि प्रयोग गरिएको छ । त्यस्तै, भक्तपुरका दक्ष कालिगढहरूबाट पोखरीमा पानी अड्याउन कालो माटोको सलामी दिने काम पनि भइरहेको छ ।
पुनर्निर्माण प्राधिकरणले यी कामलाई तीव्रता दिन कालिगढहरूको संख्या बढाउन उपभोक्ता समितिलाई निर्देशन दिएको छ ।



