विदेश पठाएको पैसा नतिरेकाे भन्दै गरिबको घरमा डोजर, परिवारको बिचल्ली

अ+
अ
अ-

जनकपुर – विदेश उडाएको पैसा नदिएको भन्दै महोत्तरीमा एक एजेन्टले एक गरीबको घर डोजर लगाएर भत्काएका छन् । महोत्तरीको भंगहा नगरपालिका-१, कविलासा पूर्वारीटोलका मोहम्मद पनित शेखको घर स्थानीय एजेन्ट बद्री ठाकुरले डोजर लगाएर भत्काएका हुन् । शनिबार सम्पूर्ण परिवारलाई घरबाट निकालेर एजेन्ट ठाकुरले एकाएक डोजर लगाएर भत्काएको शेखकी श्रीमती जाहिरा खातुनले दुखेसो पोख्नुभयो ।

घर भत्काएपछि शेखका सम्पूर्ण परिवार विस्थापित भएका छन् । महोत्तरीका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले घटनाका विषयमा थोरै मात्र जानकारी भएको बताउनुभयो । पीडितले उजुरी नदिएकाले कारबाही प्रक्रिया अघि बढाउन नसकेको उहाँको भनाइ छ । पीडित जाहिराका अनुसार शेख अहिले पनि साउदी अरबमा वैदेशिक रोजगारीमा हुनुहुन्छ ।

आठ वर्ष अघि एजेन्ट बद्री ठाकुरले शेखलाई २० हजार रुपैयाँमा राम्रो काम र कमाइ हुने कम्पनीमा काम पाइने भन्दै विदेश पठाइ दिएका थिए । तर शेखले त्यहाँ गएपछि राम्रो काम र तलब पाउनु भएन । आफ्ना पति शेख विदेश गए पछि आफ्नो ससुरा अहम शेखसँग एजेन्ट ठाकुरले ८५ हजार रुपैयाँको जाली तमसुक बनाएकाे र त्यही पैसाको ब्याजको स्याज गरी एजेन्ट ठाकुरले मोटो रकम माग गर्ने गरेकाे र जिल्ला अदालत महोत्तरीमा मुद्दा समेत हालेकाे जाहिराले बताउनुभयाे ।

शेखको सम्पतिको नाममा ५ धुर घडेरीमा काठ र माटोले बनाएको यही एउटा सानो घर थियो। पति विदेश गएपछि कमाएको पैसाले जेठी र माहिली छोरीको बिहे गरेको उहाँकी श्रीमती जाहिराले बताउनुभयो । घरमा १७ र १५ वर्षका दुई छोरी र १० र ८ वर्षका दुई छोरा छन् । ‘विदेशमा पतिको कमाइ थाेरै भएकाले घर व्यवहार चलाउन र २ छोरीको बिहे गर्न बाहेक केही सकिएको छैन, बस्ने घर पनि एजेन्टले भत्काएर सडकमा पुर्‍याए ।

अब हामी कहाँ बस्ने?’, जाहिराले आँसु झार्दै भन्नुभयो ।‘ पतिले पठाएको डेढ लाख र आफ्नो बुबाले दिएको ५० हजार गरी २ लाख रुपैयाँ, केही सुनचाँदीको गरगहना र खाद्यान्न, लत्ता-कपडासमेत निकाल्न नदिइ डोजर लगाएकाे जाहिराको दुखेसाे छ । एजेन्टले पैसा असुलीका लागि मुद्दा हालेपछि गएकाे असारमा ३ लाख रुपैयाँ दिएर हरहिसाब मिलाउन आग्रह गर्दा नमानेको र अहिले एकाएक घर भत्काएकाे जाहिराले आराेप लगाउनु भयाे ।

जाहिराले केही वर्ष अघि एजेन्ट ठाकुर राति राति घरमा पसेर ऋण छोडि दिने भन्दै अनैतिक सम्बन्धको प्रस्ताव राख्ने गरेकाे गुनासाे गर्नु भयाे । एक पटक त होहल्ला समेत भइपछि भागेकाे र यस विषयमा पञ्चायत समेत राखिएको थियो । त्यो रीसीबी साँध्नलाई घर तोडेको हुनसक्ने केही स्थानीयको अनुमान छ ।

उता एजेन्ट ठाकुरले शेखको घर आफूले नभत्काएर जिल्ला अदालत महोत्तरी र प्रहारी प्रशासनले भत्काएको दाबी गरे । शेखले विदेश जाने प्रयोजनमा नभई घर व्यवहारको लागि ७ वर्ष अघि २ लाख ५० हजार आफू सँग लिएको ठाकुरको भनाई छ । यता भंगहा नगरपालिकाका नगर प्रमुख संजिवकुमार साहले आफूले दुवै बिचको लेनदेनको मुद्दा मिलाउन तीन पटक पहल गरेको, तर मुद्दा अदालतमा गएकाले यसमा आफूले चासो नदेखाएको बताए ।

प्रतिक्रिया दिनुहोस्