बिरामी बचाईदिन डाक्टरलाई होईन, सेना र प्रहरीलाई हारगुहार !

अ+
अ
अ-

बैतडी, साउन २५ गते । बिरामीलाई अस्पताल भर्ना गरेर बिरामीका आफन्त ज्यान बचाईदिन डाक्टरलाई होईन, सेना र प्रहरीलाई हारगुहार माग्छन् भन्दा अचम्म लाग्ला तर, यो जिल्ला अस्पताल बैतडीमा भर्ना हुनेहरुको पीडा हो । शुक्रबार गंगादेवी धामीले पनि यस्तै पीडा भोग्नु प¥यो । उपचारका लागि दार्चुलाबाट बैतडी अस्पताल पुग्नु भएकी गंगादेवी स्वास फेर्न नसकेर अस्पतालको बेडमा छटपटाई रहनु भएको थियो ।

त्यहाँ कुरुवा र आफन्त थिएनन्। सोधपुछ गर्दा बिरामीका आफन्त प्रहरी कार्यालय पुगेको जानकारी मिल्यो। गंगादेवीको शरीरमा २.२ ग्राम प्रतिशत होमोग्लोबिन थियो । औसत महिलामा होमोग्लोबिनको मात्रा ११.५ देखि १६ ग्राम प्रतिशत हुन्छ । गंगादेवीलाई डाक्टर ले तुरुन्त रगत चाहियो भनेपछि बिरामीका आफन्त दगुर्दै जिल्ला प्रहरी कार्यालय पुगे । प्रहरी जवान राजेन्द्रसिंह लोथ्यालले अस्पताल पुगेर बिरामीलाई रगत दिएपछि गंगावेदी धामीलाई स्वास फेर्न बल्ल सहज भयो ।

जिल्ला अस्पताल बैतडीबाट रगतका लागि बिरामीका आफन्त हारगुहार माग्न आएपछि प्रहरी जवानले रगत दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी ईन्सपेक्टर दिपक पातलीले बताउनु भयो । बैतडी अस्पतालमा सुत्केरी हुन आउने महिलाको अत्या धिक रक्तश्राव हुँदा रगतका लागि स्वास्थ्यकर्मी आत्तिनु पर्ने अवस्था छ । सुत्केरी र रक्त अल्पता भएका बिरामी बचाउन सेना र प्रहरीलाई गुहार्नुको विकल्प नभएको जिल्ला अस्पताल बैतडीका ल्याब असिसटेन्ट चन्द्र डोबालले बताउनु भयो ।

रगत नपाईने हुँदा जिल्लाका अधिकांश सुत्केरी जिल्ला बाहिर जाने गरेका छन्। आ.ब. २०७५/२०७६ मा जिल्ला अस्पताल बैतडीमा सुत्केरी भएका महिला मध्ये अत्याधिक रक्तश्राव भएका पाँच जनालाई नेपाली सेना र नेपाल प्रहरीले रगत दिएपछि ज्यान जोगिएको जिल्ला अस्पताल बैतडीले जानकारी दिएको छ । ल्याब असिसटेन्ट डोबालले भन्नुभयो, “ रक्तअल्पता भएका बिरामी र सुत्केरीको ज्यान बचाउन सबै भन्दा बढी नेपाली सेना, नेपाल प्रहरी र पछिल्लो समय शसस्त्र प्रहरी बलले पनि रगत दिने गरेको छ । ”

२०४८ सालमा स्थापना भएको जिल्ला अस्पताल बैतडीमा ब्लड बैंक छैन । बैतडीको जनसंख्या दुई लाख ५० हजार रहेको छ। यो मध्ये ५१ प्रतिशत महिलाको जनसंख्या छ । नेपाल जसांख्यिक स्वास्थ्य सर्वेक्षण सन् २०१६ को प्रतिवेदन अनुसार बैतडी लगायत सुदूर पश्चिममा प्रजनन उमेरका महिला मध्ये ३९.३ प्रतिशतमा रक्त अल्पता रहेको तथ्यांक छ । जन्मेको ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका मध्ये ५० देखि ५३ प्रतिशतमा कुनै न कुनै किसिमको रक्त अल्पता रहेका स्वास्थ्य सर्वेक्षणले खाएको छ ।

जिल्लामा ब्लड बैंक नहुँदा सबै भन्दा बढी सुत्केरी र रक्त अल्पता भएका महिलाको ज्यान बचाउन समस्या भईरहेको जिल्ला अस्पताल बैतडीका डाक्टर जगदिशचन्द्र बिष्टले बताउनु भयो । आम सर्वसाधारणले रगत दिन नमान्दा सेना, प्रहरी र स्वास्थ्य कर्मीले रगत दिएर सुत्केरी बचाउने काम भईरहेको डाक्टर विष्टले बताउनु भयो । यो वर्ष सुदूरपश्चिम प्रदेश सरकारको पहलमा जिल्ला अस्पताल ब्लड बैंक स्थापना गर्न उपकरण आउन लागेको जिल्ला अस्पताल बैतडीका डा. जगदिशचन्द्र विष्टले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्