हेलमेटमा भेटियो १० लाख मूल्यको १५ किलो चाँदी

अ+
अ
अ-

महोत्तरी : सुरक्षा कर्मीले तस्कर विरुद्ध कडाइ गर्न थाले पछि तस्करहरुले पनि नयाँ नयाँ तरिका अपनाउन थालेका छन् । सशस्त्र प्रहरीले १५ किलो चाँदीका दानासहित भारत प्रवेश गर्न लागेको अवस्थामा धनुषा मुसहरनिया–२ का ३२ वर्षिय वीरेन्द्र महतोलाई सोमबार बिहान पक्राउ गरेको छ । मटिहानीस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टबाट खटिएको पैदल गस्तीले महतोलाई नेपाल भारत दशगजा नजिकबाट बिहान पक्राउ गरेको हो ।

सशस्त्र निरीक्षक शुभाषचन्द्र मैनालीकाअनुसार जाँचका क्रममा बीआर ३२ एल ०६८९ नम्बरको पल्सर मोटर साईकलमा भारततर्फ जाँदै गरेका वीरेन्द्रको हेल्मेट भित्रबाट चाँदीको पोका फेला परेको थियो। बरामद चाँदीको बजार मूल्य १० लाख बढी हुने सुनचाँदी व्यव सायी संघले जनाएको छ । नेपालमा भन्दा भारतमा चाँदी प्रति किलो ९ सयदेखि २ हजार रुपैयाँ बढीमा बिक्ने व्यवसायीले बताएका छन् ।

चाँदी बिक्री वापत उताबाट प्राप्त हुने भारतीय रुपैयाँ नेपाली बजारमा सय कडा २ देखि ५ रुपैयाँसम्म बिक्री हुन्छ। दोहोरो मुनाफा हुने भएपछि सुनचाँदी तस्करी हुने गरेको संघले जनाएको छ। वीरेन्द्रले चाँदी भारतको दरभंगा पुर्‍याउने जिम्मा लिएको बयानमा खुला एका छन् । यसअघि २ पटक गरी २५ केजी चाँदी भारत छिराएको उनले स्विकारेका छन् । दरभंगाका कपिल नामका सुनचाँदी कारोबारी तथा त्यहाँका ठूला पसलमा पुर्‍याउने गरेको उनले बताए ।

सशस्त्र निरीक्षक मैनालीकाअनुसार वीरेन्द्रको साथबाट नेपालको एनसीसी बैंक र भारतको पञ्जाब नेशनल बैंकका एटिएम, भारतीय पहिचान पत्र र भारतीय सवारी लाइसेन्स समेत बरामद भएको छ । वीरेन्द्रलाई चाँदीसहित जलेश्वर भन्सार कार्यालयमा बुझाउने तयारी भइरहको छ । गत वर्षको साउन २० गते पनि मटिहानी स्थित सशस्त्र प्रहरीले धनुषा मुसहरनीया कै २० वर्षीय नागेन्द्र पासवानलाई १४ लाख मूल्य बराबरको २० किलो चाँदी सहित दशगजा क्षेत्रबाटै नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्