कुलमानको सक्रियतामा ११ वर्षपछिकै ठूलो जलविद्युत आयोजना सम्पन्न

अ+
अ
अ-

नुवाकोट – नेपालमा ११ वर्षपछिकै ठूलो जलविद्युत परियोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । माथिल्लो त्रिशूलीथ्री ‘ए’ बाट ६० मेगावाट विद्युत् उत्पादन सुरु भएको हो । यो आयोजनाको पहिलो युनिटबाट गएको जेठ २ गते नै ३० मेगावाट विद्युत् उत्पादन भैसकेको छ । दोस्रो युनिट पनि ७२ घण्टा परीक्षण सम्पन्न भएको छ ।

अहिले माथिल्लो त्रिशूलीथ्री ‘ए’ बाट ६० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाबाट दैनिक १४ लाख ४० हजार युनिट विद्युत उत्पादन भैरहेको छ। अहिलेसम्म आयोजनाका दुवै युनिटले २ करोड २० लाख युनिट बिजुली उत्पादन गरेका छन् । बजार भाउ अनुसार २२ करोड रुपैयाँको बिजुली उत्पादन भैसकेको छ । यसअघि विसं २०६५ सालमा मध्य मर्स्याङ्दीबाट ७० मेगावाट विद्युत उत्पादन भएको थियो।

‘हामीले ११ वर्षपछिकै ठूलो आयोजना सम्पन्न गरेका छौँ, लामो समय समस्यामा रहेको यो आयोजना सम्पन्न भएपछि हामीलाई धेरै राहत भएको छ, उत्साहित भएका छौँ’, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो । आयोजनाको विद्युत् सिम्ले मा रहेको विद्युत् गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत काठमाण्डौको मातातीर्थमा रहेको सबस्टेसनमा जोडिएको छ ।

अब दोस्रो युनिटको उपकरण तथा सुरुङ, बाँध लगायतका संरचनाहरुको पुनः परीक्षण गरिने छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, ‘लोड सेन्टर (काठमाण्डौ उपत्यका) बाट नजिक रहेको र हिउँदमा समेत झण्डै ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट काठमाण्डौ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलनमा राख्न ठूलो योगदान रहन्छ, यसबाट उपत्यकाको विद्युत् वितरण प्रणालीमा थप विश्वसनीयता बढ्नेछ ।’

प्रतिक्रिया दिनुहोस्