बिजुली र इन्धनबिना पानी तान्ने पम्प, खानेपानी मन्त्रीले गरिन् निरीक्षण

अ+
अ
अ-

काठमाडौं : खानेपानी मन्त्री बिना मगरले बिजुली र डिजेलको प्रयोग नगरी खोलानाला नदीको पानी तानेर सिंचाई तथा खानेपानीका लागि प्रयोग गर्न सकिने प्रविधिको निरीक्षण गरेकी छन्। बिहीबार ललितपुरको गोदावरी नगरपालिका अन्तर्गत ठैब र गोदावरीस्थित उक्त प्रविधिको मन्त्री मगरले अवलोकन गरेकी हुन्।

नेशनल एग्रिकल्चर एण्ड फरेष्ट्री प्रालिले पम्पको माध्यम बाट विना बिजुली र इन्धन पानी तान्ने पम्प प्रविधि नेपालमा भित्र्याएको हो । कम्पनीका प्रबन्ध निर्देशक गौतम महर्जनले यस्तो प्रविधि नेदर ल्याण्डबाट आयात गरिएको जानकारी दिए । नेपालका विभिन्न पहाडी इलाकामा यस प्रविधिको माध्यम बाट पानी तानेर गाउँ बस्तीमा सिंचाइ र पिउनका लागि सहज बनाइएको प्रबन्ध निर्देशक महर्जनले बताए।

कम्पनीले वर्षा र पापा पम्प नामाकरण गरी प्रविधिको प्रयोग गरिरहेको छ। ‘यो पम्पबाट पानी तान्न बिजुली र डिजेल चाहिंदैन । यो पानीको प्रेसरबाट नै चल्ने पम्प हो ।’ महर्जनले भने, ‘विशेष गरी पहाडी एरियामा तल खोलाबाट पानी तानेर माथि गाउँ बस्तीमा पुर्याउन यो प्रविधि निकै सहयोगी हुने गर्दछ। महर्जनले यो सबैभन्दा सस्तो प्रविधि भएको दाबी गरे।

वर्षा पम्पले विना बिजुली र इन्धन बगेको पानीको प्रवाहबाट पम्पलाई घुमाइ नदी, खोला वा नहरको पानीलाई २० मिटर ठाडो र २ किलोमिटर दूरीमा फाल्ने काम गर्छ ।’ पापा पम्पबाट पहाडतिर घट्ट चलाए जस्तो पम्पचलाएर ५० मिटरदेखि १सय ५० मिटर ठाडो उचाइमा पानी तान्न सकिने महर्जनले जानकारी दिए।यस पम्पबाट पानी तानेर सिंचाई र माछा पालन गर्न सकिने उनको भनाई छ।

अवलोकनपछि खानेपानी मन्त्री मगरले यस किसिमको प्रविधि नेपालको हरेक गाउँ बस्तीमा निकै उपयोगी हुने बताइन् । यस किसिमको नयाँ नयाँ प्रविधिको प्रबद्र्धनमा सरकारले सहयोग गर्ने उनले बताइन् । निरीक्षणमा खानेपानी मन्त्री मगरसँगै खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका कार्यकारी निर्देशक लिलाप्रसाद ढकाल पनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्