तानसेन : कालीगण्डकीको रिडी घाटबाट अस्पताल पुर्याइएकी महिलाको स्वास्थ्यमा सुधार आएको छ। रैनादेवी गाउँपालिका १ सिद्देश्वरकी ३७ वर्षीया नर्मदा ज्ञवालीलाई मंगलबार कालीगण्डकीको रिडी घाटबाट उपचारको लागि लुम्बिनी मेडिकल कलेज तानसेनमा ल्याइएको थियो। मिर्गौलाको समस्या भएकी ज्ञवालीको बुधबारदेखि डायलसिस सुरु भएको कलेजका प्रवक्ता कृष्ण पराजुलीले जानकारी दिए। अहिले ज्ञवालीको रक्तचाप, श्वासप्रश्वास र मिर्गौलामा समस्या देखिएको छ। हिजोको अवस्थामा भने सुधार भएको पराजुलीको भनाइ छ।
परिवार तथा आफन्तले ज्ञवालीको मृ*त्यु भएको भन्दै अर्धचेत अवस्थामै घाट पुर्याएका थिए। घाटमा पुगेपछि ज्ञवाली चलबलाएपछि स्थानीय स्वास्थ्य चौकी हुँदै उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेनमा ल्याइएको थियो। झाडापखाला भएपछि ज्ञवाली असार २६ गते युनाइटेड मिसन अस्पताल भर्ना भएकी थिइन्। उपचारको क्रममा मिर्गौलाको समस्या देखिएपछि अस्पतालले परिवारलाई अन्य अस्पतालमा लगेर उपचार गर्ने सल्लाह दिएको थियो। अस्पतालको डिस्चार्जपछि ज्ञवालीलाई अक्सिजनसहित एम्बुलेन्समा राखेर अन्य अस्पताल र घर नलगी आफन्तले रिडी घाट पुर्याइएका थिए।
बिरामीलाई एम्बुलेन्समा घाटतर्फ लगेपछि गाउँले दाहसंस्कारको लागि आवश्यक सामग्री लिएर घाट पुगेका थिए। एम्बुलेन्सबाट निकालेर ज्ञवालीलाई कालीगण्डकी किनारको घाटमा राखेर अन्य तयारी गर्दै गर्दा उनी चलबलाएकी थिइन्। चलबलाए लगत्तै गाउँलेले उन लाई तत्काल बोकेर स्थानीय स्वास्थ्य चौकी लुम्बिनी मेडिकल कलेजमा ल्याएका थिए। स्थानीय स्वास्थ्य चौकीले धड्कन र नाडी चलेको भन्दै थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज लान सिफारिस गरेको थियो। ‘घाट नजिकै राखेको अवस्थामा चलबलाएको देखेपछि रुरु फेन्डर्स क्लबको एम्बुलेन्सबाट स्वास्थ्य चौकी हुँदै लुम्बिनी मेडिकल कलेज ल्याइएको हो।’



