मकवानपुर – मकवानपुरमा राति देखि फेरि भीषण वर्षा भएको छ। वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदम पोखरी सडकको डाइ भर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवत जावत बन्द भएको छ ।
त्यस्तै हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको छ । शिवम् सिमेन्टको कच्चा पदार्थ पुर्याएर फर्कने क्रममा गाडीलाई खोलाले बगाएको हो । गाडीका चालक तथा सहचालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिश बुढाथोकीले जानकारी दिए । हेटौंडा हुँदै आएको ट्रक कर्रा खोलामा डुबेको छ ।
पहिरोका कारण १० दिन अवरुद्ध भएर भर्खरै सञ्चालनमा आएको हेटौँडा फाखेल काठमाडौँ सडकखण्ड भने अहिले सम्म सञ्चालन मै रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए। ‘उत्तरी क्षेत्रमा राति पानी नपरेका कारण अहिले सम्म बाटो सञ्चालनमै छ तर भर्खर पानी पर्न थालेकाले सावधान हुनुपर्छ’, उनले भने । पानी केहीबेर परे बाटो अवरुद्ध हुनसक्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्



