आफूले खनेको खाल्डो आफैँ पुरे, अन्ततः पछि हट्यो एसएसबी

अ+
अ
अ-

इलाम । नेपाल भारत सीमावर्ती इलाम सूर्योदयनगरपालिका पशुपतिनगर स्थित चारमाइल सडकको अवरोध हटेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उक्त सडकमा खाल्डो खनेर आउजाउ गर्न नै अवरोध गरेको थियो। तर मंगलबार सूर्याेदय नगरपालिकाका जनप्रतिनिधि, पशुपतिनगरस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयलगायतको पहलमा एसएसबीले आफैले खाल्डो पुरेर अबरोध हटाएको हो ।

नगरपालिकाका मेयर आरबि राईले सो क्षेत्रको अनुगमन पश्चात एसएसबीलाई अबरोध हटाउन अनुरोध गर्नुभएको थियो । एसएसबीले अबरोध गरेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी पशुपतिनगर इकाईसँग भारतका एसएसबी इकाईले वार्ता गरेपछि सडक खुलाउन एस एसबी तयार भएको थियो । नेपाल भएर भारततिर छिर्ने चारमाइलको वर्षाैं पुरानो कच्ची सडकमा खाडल खनेर एसएसबीले आउ–जाउ अवरोध गरेको थियो ।

नेपालतर्फको तरकारी भारत लैजान रोक्नेगरी सडकको दशगजामा खाडल खनेर अवरोध गरेको थियो । नेपालमा उत्पादित ठूलो परिमाणको तरकारी पशुपति नगरबाट भारत जान्छ । एसएसबीले ‘माथिको आदेश’ भन्दै सडकमा खाल्डो खनेर अबरोध गरेको थियो । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पूर्वी सीमा क्षेत्रका नेपाली माथि अनावश्यक दुःख दिने गरेको छ ।

तत्काल सीमामा सडक खन्ने वा अवरोध गर्ने कामले विवाद बढाउने, तिक्तता सिर्जना गर्ने दुवै पक्ष सहमत भएपछि एसएसबीले सडक अवरोध खुलाउन तयार भएको पशुपति नगरस्थित सशस्त्र प्रहरी इन्स्पेक्टर सशांकजंग कार्कीले बताउनु भयो। सीमा क्षेत्रको नेपाली भूमिमा सडक, घर, चर्पी बनाउन समेत अबरोध गर्ने गरेको छ । एसएसबीले दसगजा जहाँ पर्छ, त्यहीं खाडल खनेर बाटो बन्द गराएको थियो । नेपाल समाचारपत्रमा खबर छ

प्रतिक्रिया दिनुहोस्