काठमाडौं– केही दिन यता भारतको गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) प्रमुखको नेपाल भ्रमणको विषयले नेपालमा निकै चर्चा पाएको छ । ‘रअ’ का प्रमुख समान्तकुमार गोयलसँग नेपालमा प्रमुख दलका शीर्ष नेताहरुको भेटले अझ बढी चर्चा पाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक अध्यक्षदेखि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापतिसम्मले ‘रअ’ का प्रमुख गोयलसँग भेटेको विषयले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म चर्चा पाएको छ ।
केही सञ्चार माध्यमले त ‘रअ’का प्रमुख सँगको भेटलाई निकै खोजमूलक बनाउन खोजेको पनि देखिएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘रअ’ प्रमुख गोयलसँग भेटेको पुष्टि भए पनि अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले भेटेको चर्चा चलेको तर पुष्टि भएको छैन । अध्यक्ष दाहालले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओलीको जानकारीमा भेटे या बिना जानकारी भेटे यो विषयले यतिवेला निकै चर्चा पाएको छ । नेपालका राजनीति ज्योतिषहरुले प्रचण्डलाई तथा कांग्रेस सभापति देउवालाई ‘रअ’ प्रमुखले भेटेपछि नेपालमा राजनीतिक परिवर्तनको अड्कल समेत गर्न थालेका छन् । ‘रअ’ प्रमुख गोयलको टोली प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटारमै पुगेको थियो ।



