‘बिपी’को सम्मान गर्ने हो भने पार्टीभित्र आपसी मेलमिलाप आवश्यक छ: नेता भण्डारी

अ+
अ
अ-

दमौली- नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बिपीको सम्मान गर्ने हो भने पार्टीभित्र र अन्य दलबीच आपसी मेलमिलाप आवश्यक रहेको बताएका छन् । “मेलमिलापको नीति अङ्गीकार गर्ने बिपी र उनको पार्टी काङ्ग्रेसभित्रै आज मेलमिलाप छैन । नेता र कार्यकर्ताबीच सम्बन्ध बढाउन आजको दिनबाट प्रेरणा लिनुपर्छ ”, उनले भने ।

जननायक बिपी कोइरालाको ३७ औँ स्मृति दिवसका अवसरमा नेपाली काङ्ग्रेस तनहुँले व्यास नगरपालिका–५ मा आज (सोमबार) आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले शोषित पीडित जनताको मात्र नभई समग्र राष्ट्रको हितका लागि पनि बिपी कोइरालाको विचार आज पनि सान्दर्भिक रहेको बताएका छन् । नेता भण्डारीले दुई तिहाइ बुहमतको सरकारलाई असफल हुने छुट नरहेको भन्दै वर्तमान सरकार असफल भए लोकतन्त्रमाथि प्रहार हुने बताए । सरकारले जनअपेक्षाअनुसार काम गर्दै जानुपर्ने नेता भण्डारीको भनाइ थियो ।