काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा इञ्चार्ज र सह–इञ्चार्ज टुंगो लगाएको विषय भुसको आगो सल्किए जस्तै भएको छ । पार्टीका ७७ जिल्ला कमिटीका इञ्चार्ज र सह–इञ्चार्ज टुंगो लगाए पनि पार्टी भित्र असन्तुष्टि बढेको देखिएको छ । नेकपामा नेताहरूको विभागीय जिम्मेवारीको बहसले एक–अर्काप्रति कटाक्ष सुरु भएका छन् ।
विभिन्न विभाग मध्ये १४ पूर्वमाओवादीको भागमा परेका छन् । त्यसमा पूर्वएमालेले कुनै दाबी गरेको छैन । तर, संगठन, स्कुललगायतका केही विभागमा भने पूर्वमाओवादीले बखेडा निकालेपछि सार्वजनिक रुपमै बहस चर्किन थालेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य वामदेव गौतमबीचकै कुरामा एकमत नदेखिएपछि नेता–कार्यकर्ता अलमलमा परेका छन् ।
सचिवालय सदस्य गौतमले संगठन विभागको जिम्मा आफूले पाएको बताउँदा प्रवक्ता श्रेष्ठले भन्ने जिम्मेवारी नदिइएको बताएका छन् । त्यस्तै, स्कुल विभागमा समेत विवाद देखिएको छ । स्कुल विभागमा ईश्वर पोखरेल तय भए पनि विवाद चर्किएको छ । यसैबीच नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन् ।

उनले प्रचण्डलाई लक्षित गर्दै सामाजिक सञ्जालमा आफ्नो भनाइ सार्वजनिक गरेका छन् । केन्द्रीय सदस्य थापाले लेखेका छन्, ‘नेकपाका पूर्वएमाले कसैको जिम्मेवारी खुमलटारको दया, कृपा र सहमतिमा तोकिने होइन, त्यहाँको दुख सीमा थाहा नपाउने सायदै कोही होला ?’


