काठमाडौं- उज्यालो नहुँदै बिरामी टिकट काट्न आइपुग्छन्। जँचाउने तथा भर्ना भई उपचार गराउनेको संख्या बर्सेनि बढ्दो छ। शल्यक्रिया गर्नुपरे महिनौं कुर्नुपर्छ। लाग्छ, अस्पतालले मुनाफा गरिरहेको छ। तर, अवस्था ठीक उल्टो छ। महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल सधैँ घाटामा छ। नाफा गर्न नसकेको अस्पतालमा जँचाउन र भर्ना भई उपचार गराउने बिरामीको संख्या बढ्दै गएको छ।
करिब सात सय शड्ढया क्षमतामा सञ्चालित अस्पतालले आइतबार ३७ औं वार्षिकोत्सव मनाएको छ। अस्पताल जापान सरकारको सहयोगमा स्थापना भएको हो। वार्षिकोत्सव समारोहमा अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले अस्पताल घाटामा रहेको तथ्य सार्वजनिक गरे। ०७६/७७को प्रक्षेपित आर्थिक विवरणअनुसार अस्पतालले २ अर्ब १८ करोड ५६ लाख २२ हजार ९ सय ९४ रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ। जसमध्ये २ अर्ब १९ करोड २५ लाख १२ हजार ३ सय ५० रुपैयाँ खर्च हुने अनुमान छ। निर्देशक डा. खड्गाका अनुसार ६८ लाख ८९ हजार ३ सय ५५ रुपैयाँ घाटा हुने देखिन्छ।



