असुरक्षित गर्भपतन गराउँदा युवतीको मृत्यु

अ+
अ
अ-

पर्सा / पर्सामा असुरक्षित गर्भपतन गराउँदा एक युवतीको मृत्यु भएको छ । पर्साको पोखरिया नगरपालिका–६ कि २० वर्षीया सावित्रीकुमारी शर्माले भारतको रक्सौल गएर असुरक्षित गर्भपतन गराउँदा मृत्यु भएको हो । सावित्रीको उपचारकै क्रममा साउन ३ गते मृत्यु भएको हो । गर्भपतनपछि अवस्था गम्भीर बनेपछि सावित्रीलाई वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा असार २२ गते घटनाबारे थाहा पाएको प्रहरीले स्थानीय सिकेन्द्रप्रसाद चौहानलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता डीएसपी अनन्तराम शर्माले जानकारी दिएका छन् । प्रहरीले सिकेन्द्रलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको उनले बताए । उनले भने, ‘गर्भ बसेपछि उनीहरुले रक्सौलमा गएर असुरक्षित गर्भपतन गराएका रहेछन्,’ ‘गर्भपतनपछि युवतीको स्वास्थ्य स्थिति बिग्रिएछ, वीरगञ्जमा उपचार गराउँदा घटनाबारे जानकारी आएपछि अनुसन्धान सुरु गरेका हौं ।’हाल उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

नेपालमा सरकारले गर्भपतनका लागि सूचीकरण गरेको स्वास्थ्य संस्थामा महिलाको मन्जुरीमा दक्ष स्वास्थ्यकर्मी वा नर्सद्वारा १२ हप्तासम्मको गर्भ सुरक्षित तरिकाले गर्भपतन गर्न सकिने कानूनी व्यवस्था छ । तर तराईका सीमावर्ती क्षेत्रमा भारतमा गई असुरक्षित गर्भपतन गर्ने प्रचलनसमेत रहेको छ ।