काठमाडौं – बौद्धस्थित समता अस्पतालका सञ्चालक समता स्कुल एवम् अस्पतालका सञ्चालक उत्तम सन्जेलकी पत्नी कला सन्जेलसहित अरु दुई कर्मचारीलाई कारागार चलान गरिएको छ । यसअघि जिल्ला अदालत काठमाडौंले उनीहरुलाई जनही ३ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । तर, अदालतको आदेशअनुसार तीनै जनाले ३ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि उनीहरु बुधबार कारागार चलान भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
उनीहरु तीनै जनालाई केन्द्रीय कारागार, सुन्धारा लगिएको छ । थुनछेक बहस सकिएपछि जिल्ला अदालतले तीनै जनालाई रिहा गर्न आदेश दिएको थियो । करिब महिना दिन अघि समता अस्पतालमा कार्यरत एकजना महिला कर्मचारीको मृत्यु भएको थियो । महिला कर्मचारी बिमला तामाङ अस्पतालमै मृत फेला परेपछि मृतकका आफन्तले सन्जेलविरुद्ध किटानी जाहेरी दिएका थिए। प्रहरीले सोही आधारमा पक्राउ गरी उनीहरूलाई थुनामा राखेको थियो।



