काठमाडौं : भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा भवन भासिँदा एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ। मंगलबार राति भएको घटनामा एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो। घटनामा ज्यान गुमाउने बाबु, आमा र छोरी बझाङको थलारा गाउँपालिका–२ बगाडाका स्थायी बासिन्दा हुन्। उनीहरू रोजगारीका लागि सपरिवार बैंगलोरमा थिए।
बैंगलोरको शिवनगर स्थित ‘साइ आदि अम्बल’ अपार्टमेन्टमा सुरक्षा गार्डका रुपमा काम गर्ने बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्काको अपार्ट मेन्टको भुइँ तला भासिँदा मृत्यु भएको खड्काका भाइ कमलले बताएको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ। मृतक खड्का ६ वर्षदेखि उक्त अपार्टमेन्टमा काम गर्थे। पार्किङ सहितको भुइँतलामा खड्का परिवारको बसोबास थियो।
राति करिब २ बजेतिर भासिएको भवनबाट १२ घण्टापछि शव निकालिएको मृतकका परिवारले बताएका छन्। रोजगारीका क्रममा बैंगलोरमै रहेका मृतकका काका रामबहादुर खड्काले नजिकै निर्माणाधीन ६ तले भवन ढल्दा अर्को चारतले भवनलाई धक्का दिएको र उक्त भवनको भुइँतला भासिएको जानकारी दिए। ज्यान गुमाउने अन्य दुईजना भारत बिहारका रहेको भारतीय मिडियाले लेखेका छन्। घटनामा ७ जना घाइते भएका छन्।



